काठमाडौँःनेप्लिज योङ ईन्टरप्रेनियर्स फोरम (एनवाईईएफ) काठमाडौं च्याप्टरले ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० का लागि ओरिएन्टेसन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । मंसिर ७ गते पाटन कलेज फर प्रोफेशनल स्टडिजमा सम्पन्न भएको उक्त कार्यक्रमले नेपालमा उद्यमशीलताको सम्भावनालाई मजबुत बनाउने आयोजकले बताएका छन् ।
यस वर्षको प्रतियोगिताका लागि नेपालभरका १७० भन्दा बढी स्टार्टअपहरु दर्ता भएका छन् । उक्त ओरिएन्टेसनले प्रतियोगिताको प्रक्रिया, मेन्टरशिप र वृद्धिका अवसरहरूका बारेमा विस्तृत जानकारी प्रदान गरेको बताइएको छ ।
कार्यक्रमको सुरुवात गर्दै एनवाईईएफ काठमाडौं च्याप्टरका अध्यक्ष अभिमन्यु गोल्छाले स्टार्टअपहरुलाई स्केल गर्न र सफल बनाउन यस्ता प्लेटफर्महरूको महत्वलाई जोड दिएका थिए । कार्यक्रमका अध्यक्ष सन्दीप शर्माले प्रतियोगिताको संरचनाबारे विस्तृत जानकारी प्रदान गर्दै मेन्टरशिप, नेटवर्किङ र पुरस्कार जित्ने अवसरहरूलाई प्रस्ट पारेका थिए ।
कार्यक्रमबारे थप प्रकाश पार्दै बिटुबी सेसनले सहभागीहरूलाई समान विचारधाराका उद्यमीहरू र सम्भावित साझेदारहरूसँग नेटवर्किङ गर्ने अवसर पनि प्रदान गरेको बताइएको छ ।
ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० केवल एक प्रतियोगिता मात्र नभएर यो ५ लाख रुपैयाँभन्दा माथिको नगद पुरस्कार, विशेषज्ञ परामर्श र लगानीकर्तासँगको सम्पर्क बढाउने एक प्रगतिशील प्लेटफर्म पनि भएको बताइएको थियो ।






















