काठमाडौं । स्वतन्त्ररुपमा गहना पसल सञ्चालन गर्न नसकेको सुन पसलेहरुले गुनासोलाई सम्बोधन हुनेगरी सर्वाेच्च अदालतले सुन कारोबारमा भइरहेको सिण्डिकेट हटाउन आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सुन व्यवसायसँग सम्बन्धित संघ संगठनमा आबद्ध व्यवसायीहरुले मात्र सुन खरिद गर्न पाउने व्यवस्था कार्यान्वयन नगर्न–नगराउन बुधबार अन्तरिम आदेश जारी गरेको हो । यस अनुसार अब सर्वाेच्चको अर्काे आदेश नआएसम्मका लागि सुन व्यवसायीहरुले वाणिज्य बैंकहरुबाट सिधै सुन किन्न सक्नेछन् ।
नेपाल राष्ट्र बैंकले जारी गरेको ‘सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि,२०६८’ अनुसार गहनाको पसल सञ्चालन वा सुनको कारोबार गर्न तोकिएको तीन वटा महासंघमध्ये कुनै एकको अनिवार्य सिफारिसबाट मात्र सकिनेछ । यसअनुसार महासंघको सिफारिसमा मात्र तोकिएको वाणिज्य बैंकबाट काँचो सुन खरिद गर्न सकिनेछ ।
यही विषयलाई लिएर राष्ट्र बैंकले गहना व्यवसायमा सिण्डिकेट कायम गरेको भन्दै रिद्धिसिद्धि ज्वेलर्स प्रालिका तर्फबाट सागर ढुंगानाले राष्ट्र बैंकसमेतलाई विपक्षी बनाएर सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।






















