काठमाडौं । बाला चतुर्दशी पर्वका अवसरमा यो वर्ष पशुपति क्षेत्र विकास कोषले कैलाश क्षेत्रमा पसल राख्न नदिने भएको छ । विगत वर्षमा कैलाश क्षेत्र लगायत स्थानमा पसल राख्न दिँदा दिवंगत पितृका नाममा मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति बत्ती बाली चतुर्दशीका दिन बिहान सत्बीज छर्न आउने भक्तजनलाई असहज भएपछि यस वर्ष पसल राख्न निषेध गरिएको कोषले स्पष्ट पारेको छ ।
भुवनेश्वरीबाट वनकाली तर्फको भागमा मात्र पसल राख्न दिइने र तोकिएका स्थानबाहेक अन्यत्र पसल राख्नेलाई कानुनी कारबाही गर्ने निर्णय भएको कोषले जनाएको छ । बाला चतुर्दशी पर्वका अवसरमा पशुपति क्षेत्रमा मासु, मदिरालगायत पदार्थको बिक्री वितरणमा पनि रोक लगाइएको छ ।
दिवंगत पितृका नाममा बत्ती बाल्न आउनेका लागि शुक्रबार दिउँसो दुई बजेदेखि कैलाश डाँडामा प्रवेश गराइने छ । नाम दर्ता गरेर बत्ती बाल्नेका लागि कोषले दुई हजार १०० रुपैयाँका दरले शुल्क लिने भएको छ ।
यस्तै पशुपति क्षेत्रमा आउने भक्तजनलाई आफ्ना बालबच्चालाई नलिई आउन पनि कोषले आह्वान गरेको छ । पशुपतिमा बाला चतुर्दशीका अवसरमा लाग्ने मेलाको सबै तयारी पूरा भएको कोषको भनाइ छ ।






















