skip this News Page Tips Ad Road Block

सट्टेबाजीमा ५५ करोड रूपैयाँको कारोबार गर्ने पक्राउ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । अवैध खेल सट्टेबाजीमा ५५ करोड रूपैयाँको कारोबार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ‘बेटिङ’ कारोबारमा सङ्लग्न पाँचथर घर भई ललितपुर बस्ने सुनिल राईलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

अनुसन्धानकाक्रममा ७५ वटा बैंक खाता, एक सय २८ वटा ई–सेवा वालेट प्रयोग गरी ५५ करोड २० लाख रुपैयाँको कारोबार गरेको फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै राईले २५ भन्दा बढी जिमेल खोलेको, अरुको नागरिकता प्रयोग गरी नक्कली खाता खोलेको, हुलियासमेत परिवर्तन गरी अवैध कार्य गर्ने गरेको फेला परेको प्रहरीले जनाएको छ । राईबाट एनसेल कम्पनीका ७० सिमकार्ड, ११ वटा नागरिकता, १५ थान राहदानी, २२ वटा चेकबुक र ४२ थान एटिएम कार्डसमेत बरामद गरिएका छन् ।

उनले बेटिङ एप्लिकेशनमार्फत विश्वभर सञ्चालन हुने विभिन्न अनलाइन गेम, जुवा (सट्टेबाजी) गर्ने÷गराउने गरी रकम सङ्कलन गर्ने, क्रिप्टो करेन्सीलगायत गैरकानुनी कार्य गरेको प्रहरीको निष्कर्ष छ । उनीमाथि मुलुकी अपराध संहिताको व्यवस्थाबमोजिम अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

Health Tips Ad Road Block