काठमाडौं । चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँ बराबरको विद्युत भारततर्फ निर्यात भएको छ । यो अवधिमा एक अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट भारत निर्यात गरेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । साउनदेखि कार्तिकसम्ममा देशभित्र खपत गरेर बाँकी रहेको अतिरिक्त बिजुली निर्यात गरेको प्राधिकरणले जनाएको छ ।
औसतमा प्रतियुनिट सात रुपियाँ ६३ पैसाका दरले भारततर्फ बिजुली निर्यात भएर सो रकम प्राप्त भएको हो । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको बिजुली भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत बिक्री सम्झौताबमोजिम हरियाणा र विहार राज्यमा बिक्री गरिरहेको छ ।
पछिल्लो समय भारतको प्रसारण संरचनाको प्रयोग गरेर बंगलादेशमा समेत विद्युत निर्यात सुरु भइसकेको छ । असोज १०, ११ गतेको वर्षा र बाढीपछि ४५६ मेगावाटको तामाकोशीसहित अरु जलविद्युत् केन्द्र र प्रशारण लाइनमा क्षति पुग्दा निर्यात अझै प्राभावित बनेको प्राधिकरणको भनाइ छ । चालु आर्थिक वर्षका ३० अर्ब रुपैयाँ बराबरको विद्युत निर्यात लक्ष्य राखिएपनि बाढीका कारण लक्ष्यसमेत प्रभावित हुनसक्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् ।
गत आर्थिक वर्षमा भारतमा १७ अर्ब ६ करोड रुपैयाँको बिजुली निर्यात भएको थियो भने भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको बिजुली आयात भएको थियो ।






















