काठमाडौं । अहिले काठमाडौं उपत्यकामा तरकारी तथा फलफूलको मूल्यवृद्धि अत्याधिक रहेको छ । काठमाडौं आसपासका जिल्लाहरु धादिङ, मकवानपुर, काभ्रे लगायतका जिल्ला बाढीपहिरोबाट बढी प्रभावित भएपछि यतिबेला नाकाहरु बन्द हुँदा आपूर्ति पर्याप्त नभएपछि बजार महँगी बढेको छ ।
अती भारी वर्षाका कारण सबैतिरका नाकाबाट तरकारी काठमाडौं भित्रन नपाउँदा कतिपय फलफूल तरकारी बीच बाटोमै नष्ट हुन थालेका पनि छन् । तर एकतर्फी सवारी आवागमन हुन थालेपछि केही सहजतासँगै महँगी घट्न थालेको छ । अभावको मौका छोपी कतिपयले यतिबेलै कालाबजारी गरेको चर्चा पनि उत्तिकै छ । तर व्यवसायीहरुले आपूर्ति पक्ष कम हुँदा नै महँगी बढेको बताएका छन् ।
नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष भरत प्रसाद खतिवडाले व्यवसायीले कालाबजारी गरेको अनर्गल प्रचार नगर्न आग्रह सबैसमक्ष आग्रह गरेका छन् । उनले भने, ‘अहिले बजारमा मकवानपुर ,धादिङको तरकारी बढी आउने समय हो। अती भारी वर्षाको प्रकोप तरकारी उत्पादन गर्ने जिल्लामा परेको थाहा नै छ। सबै विद्युतीय छापा एवं अनलाइन संचार माध्यमले काठमाडौं प्रवेश गर्ने नाकाहरु पहिरोको कारण बन्द रहेको भनेका भन्यै छ्न् । सबैखाले फलफूल तथा तरकारी बजारहरु डुबानमा परेका र बजारमा भएका फलफूल तरकारीहरु नष्ट भएको एवं बाटोमा भएका फलफूल गाडीहरू आउन नपाएर गाडीमा नै कुहिन थालेकाले व्यवसायीहरु आहत भएको समयमा उल्टै मूल्य बढाएर व्यवसायीहरुले कालोबजारी गरेको भन्ने अनर्गल आरोप लगाउदा दुःख लाग्दछ।’
उनले थपे, ‘अहिले खाद्यान्न गोदामहरु र फलफूल भण्डारण कक्ष डुबानमा परी व्यवसायीहरु करोडौं डुबाएर अत्यन्तै आहत भएको बेलामा उनीहरूलाई क्षतिपूर्ति दिनुपर्ने समयमा उल्टै कालोबजारीको बिल्ला जबर्जस्ती लगाउनु किमार्थ क्षम्य छैन। यसरी व्यवसायिक वातावरण बन्दैन। यदि कोहि कसैले गलत नै गरेको छ भने उ सजायको भागिदार हुनुपर्छ । यो कुरामा हामी सहमत छौ । तर साबोडालो आरोप थोपार्नु कदापि न्यायोचित होइन।’
अहिले तातोपानी हुँदै आउने फलफूल तथा सुकेको लसुन बोकेका गाडीहरू बाटोमा नै अड्किरेहेको व्यवसायीले बताएका छन् । बाटो बन्द भएकोले थप गाडीहरू लोड नभएको र बाटो खुलेपछि बल्ल सहज हुने उनीहरुको भनाइ छ ।
यता अहिले फलिरहेको हरियो, तरकारी सबै झरिले नष्ट गरेको छ । अब नयाँ उत्पादन हुन पनि समय लाग्ने देखिन्छ । यद्दपि अलि सहज भएकोले हिजो अस्ति भन्दा आज बजारमा अलि धेरै सामान आएको र मूल्य पनि केही सस्तो भएको महासंघ अध्यक्ष खतिवडाले बताएका छन् ।
कतिपय उत्पादनले बजार माग धान्नै गाह्रो भएको पनि व्यापारीहरुको भनाइ छ ।
अध्यक्ष खतिवडाले बजारमा महँगो भएका तरकारी तथा फलफूलका कारण त्यसको फाइदा उत्पादकले पाएका छन् या व्यापारी मोटाए भनेर हेर्नुपर्ने आवश्यकता रहेको समेत बताएका छन् ।