skip this News Page Tips Ad Road Block

नेपालमा रेल्वेको विकासबारे फरक–फरक तर्क

राष्ट्रिय आवश्यकतामा आधारित भएर रेल्वे नीति बनाउनुपर्छः बुद्धिजीवीहरु

काठमाडौं । नेपाललाई रेल्वे विकासमा अगाडि बढाउन ढिला गर्न नहुनेमा विज्ञहरुले जोड दिएका छन् । नेपाल बुद्धिजीवी परिषद्ले काडमाडौंमा आयोजना गरेको नेपालमा रेल्वे विकासको रोडम्याप विषयक अन्तरक्रियामा विज्ञहरुले नेपालको बढ्दो जनसंख्यालाई ध्यान दिँदै देशको दीर्घकालिन हितका लागि रेल्वे विकास आवश्यक भएको बताएका हुन् ।

कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय आवश्यकतामा आधारित भएर रेल्वे नीति बनाउनुपर्ने बताए । अबको २० वर्ष भित्र हुने नेपालको जनसंख्या, देशको आवश्यकता तथा अर्थतन्त्र विकासका लागि आवश्यक पर्ने यातायात गुरुयोजना तयार गर्न आवश्यक भएको बताउँदै महासचिव पोखरेलले स्पष्ट नीति नबनेकोमा दुख व्यक्त गरेका छन् । नीति निर्माताको तहमै गन्जागोल भएको, मन्त्रालयकाबीचमा पर्याप्त छलफल हुन नसकेकोमा असन्तुष्टि जनाउँदै उनले यो विषयमा सरोकार राख्नेबीच संवाद र छलफल गर्नुपर्नेमा जोड दिए ।

रेल्वे विकासका सन्दर्भमा महासचिव पोखरेलले भने, ‘रेल्वे विकास र व्यवस्थापनका लागि एकीकृत संरचना बनाउन मन्त्रालयले काम गर्नुपर्छ । यसका लागि आवश्यक जनशक्ति निर्माण र परिचालन गर्न आवश्यक छ । काठमाडौंमा मेट्रो रेल आवश्यकता भएकोले अलमलमा नपरी काम तत्काल अगाडि बढाऊँ ।’

यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दहालले जयनगर बर्दीबाससम्मको रेल्वे प्राथमिकतामा रहेको बताउँदै यसलाई निजगडसम्म पुर्याउन आवश्यक भएको बताए । ट्रान्स एशियन रेल्वेसँग पनि हाम्रो रेल्वे जोड्नुपर्ने बताउँदै मन्त्री दहालले उत्तर दक्षिण कोरीडोरलाई रेल्वेसँग जोड्दा प्रभाकारी हुने समेत बताए । कार्यक्रममा मन्त्री दहालले थप भने, ‘केपी ओली सरकारले २०७२ देखि रेल्वेलाई जोड दिएको हो । रेल्वेमा मुआव्जा लगायतको समस्या छ । मुआव्जा दिएर जग्गा सरकारका नाममा लिएर राख्ने हाम्रो योजना छ । हालको यातायात नीति २०५८ लाई संशोधन गरी संघीयता अनुकुल एकीकृत नीति वनाउने गरी मन्त्रालय लागेको छ ।’

कार्यक्रममा नेपाल बुद्धिजीवी परिषद्का इन्चार्जले रेलमार्ग नीतिसँगै जलमार्ग नीतिबारे पनि बहस आवश्यक भएको वताए । नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष तथा बाग्मती प्रदेश सांसद डा. दिनेशचन्द्र देवकोटा यातायातको एकीकृत मास्टर प्लान आवश्यक भएको बताउँदै काठमाडौमा मेट्रो रेल बनाउन ढिला गर्न नहुने बताए । नेपालमा रेल्वे विकासका लागि स्वयत्त र शक्तिशाली प्राधिकरण बनाउनुपर्ने बताउँदै डा.देवकोटाले यसका लागि थप अध्ययन अनुसन्धान गरिनुपर्ने समेत धारणा राखे ।

कार्यक्रममा रेल विभागका पूर्व महानिर्देशक रोहित कुमार बिशुरालले नेपालको रेल्वेको इतिहास, आवश्यकता र रोडम्यापसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । चीन तथा भारत जस्ता रेल्वे विकासमा अगाडि रहेका छिमेकी देश र एशियन तहमा कनेक्टिभिटि बढाउन रेल्वे आवश्यकता रहेको बताउँदै प्रस्तोता बिशुरालले यसका लागि अल्पकालिन र दीर्घकालिन रणनीति बनाएर अगाडि बढ्नुपर्ने धारणा राखे । कार्यपत्रमाथि टिप्पणीकार गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले रेल्वे विकास बिना समृद्धि हासिल हुन कठिन हुने बताए । जल, रेल, हवाई र सडकको एकीकृत योजनामा यातायातको विकास आवश्यक रहेको बताउँदै सचिव शर्माले दीर्घकालिन रुपमा देशको फाइदा हेर्दा रेल्वेमा जानुपर्ने भनाइ राखे ।

कार्यक्रममा अर्का टिप्पणीकारका रुपमा रेल्वे सम्वन्धी विज्ञ तथा स्क्याप नेपालका अध्यक्ष ठाकुर शर्माले आम जनतामा चेतनाको कमी भएका कारण रेल्वे विकासमा कठिनाई हुने गरेको धारणा राखे । भौगोलिक विकटता, संस्थागत क्षमता, रेल्वे सम्बन्धी मानवीय जनशक्ति विकास र परिचालन, आर्थिक स्रोतको व्यवस्थापन, वातावरणमैत्री बनाउने जस्ता विषयमा ध्यान दिनुपर्ने उनले बताए । यसैगरी अर्का टिप्पणीकार पूर्व अर्थसचिव, लालशंकर घिमिरेले रेल्वेले शहरीकरण, रोजगारी, प्रर्यटन, वातावरणमैत्री, ग्रामीण विकासमा फाइदा पुर्याउने भए पनि नेपालमा रेल्वे आर्थिक रुपले चुनौतिपूर्ण देखिएको बताए । रेल्वेमा जाँदा पहिला काठमार्डौमा रेल्वे बनाउनुपर्नेमा घिमिरेको जोड थियो ।

Health Tips Ad Road Block