काठमाडौं । सरकारले चाडपर्वलक्षित सहुलियत पसल असोज पहिलो सातादेखि सञ्चालन गर्ने भएको छ । उद्योग, वाणिज्य, आपूर्ति मन्त्रालय र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयोजनमा असोजको पहिलो सातादेखि सहुलियत मूल्य पसल सञ्चालन गर्ने तयारी गरिएको हो ।
यसका लागि सरकारले वाणिज्य मन्त्रालयमार्फत खर्च गर्ने गरी तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । चाडपर्वका समयमा बजारमा बढी खपत हुने वस्तुको कृत्रिम अभाव हुन नदिन र मूल्य नियन्त्रणका लागि भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ ।
चाडपर्वको समयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानमार्फत सहुलयित पसल सञ्चालन हुँदै आएको छ । यी संस्थाहरुले विशेष छुटमा सामान उपलब्ध गराउनेछन् ।
सरकारी तयारी अनुसार देशभर ४२ जिल्लाका ६१ स्थानमा सहुलियत पसल सञ्चालन गर्ने तयारी छ । त्यस अनुसार उपत्यकाका चार स्थानमा सहुलियत पसल सञ्चालन हुनेछन् ।