काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरूङ र उनकी पूर्वश्रीमती ज्योति गुरूङमाथि सहकारीको १४ करोड ८१ लाख रूपैयाँ अपचलनको आरोप लागेपछि गुरुङले आफ्नो बचाउ गरेका छन् । प्रेस विज्ञप्तिमार्फत गुरुङले आफूले सहकारी संस्थाको बचत रकम ठगी र हिनामिना नगरेको स्पष्टिकरण दिएका हुन् ।
सञ्चार माध्यमहरुमा सहकारी ठगीमा मुछिएको भनेर प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै गुरुङले ती समाचारप्रति आपत्ति प्रकट गरेका छन् । ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरूङले सहकारीको बचत दुरूपयोगको छानबिन गर्न गठित संसदीय छानबिन समितिमा धनराज र ज्योति सँगै बस्दाकाे बेला रकम दुरूपयोग भएको बयान दिएपछिको समाचार सार्वजनिक भएपछि गुरुङ त्यसको प्रतिवादमा उत्रिएका हुन् ।
उनले ‘अनर्गल, असत्य, भ्रामक, कपोलकल्पित समाचारका पछाडि नलाग्न सर्वप्रथम म आम नेपाली जनता, शुभचिन्तक तथा पार्टीका केन्द्रदेखि वडा तह र विदेशस्थित सम्पूर्ण साथीहरूमा हार्दिक अपिल गर्न चाहन्छु।’ भनेका छन् ।
उपसभापति गुरुङले डिभोर्स भइसकेकी श्रीमतीसँग नाम जोड्नु गलत भएको दाबीसमेत गरेका छन् ।
यता कतिपयले धनराज गुरुङ र ज्योति गुरुङको डिभोर्सपछि पनि अझै भेटघाट भइरहेको र एक आपसमा सँगै बस्ने, खाने हिँडडुल गर्नेसमेत गरेको आरोप लगाएका छन् । त्यस्तै केहीले सहकारीको ऋणको दायित्व आफूमा नल्याउने हिसाबले गुरुङ दम्पतीबीच कागजी डिभोर्स (नक्कली) भएको समेत आरोप लगाएका छन् ।