बाजुरा । बाजुराको घटमुना बजारमा रहेको कुमारी बैंकको शाखा कार्यालयमा तोडफोड गरिएको छ । गएराति अज्ञात व्यक्तिले जिल्लाको गौमुल गाउँपालिकास्थित घटमुना बजारमा रहेको बैंकको शाखा कार्यालयमा तोडफोड गरेको हो ।
गएराति २ बजेतिर एक जना व्यक्ति बैंकमा प्रवेश गरेको र कम्प्युटर चोरी गरेको दृश्य सिसिटीभिमा देखिएको शाखाका प्रबन्धक शीतल रावतले जानकारी दिए । उक्त विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीका अनुसार सो राति नै उक्त बजारका अन्य ४ वटा पसलहरुमा पनि चोरी भएको छ ।
‘बैंकमा एक जना मात्र सुरक्षाकर्मी रहेको र उनको राति ८ बजे नै ड्युटी सकिएको जानकारी प्राप्त भएको छ । सुरक्षाकर्मी नभएको समयमा अज्ञात व्यक्तिले बैंकको मूल ढोका तोडफोड गरी बैंकभित्र प्रवेश गरेको देखिएको छ, अनुसन्धान सुरु भएको छ’ जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रहरी नायव उपरीक्षक रविन्द्रसिं कार्कीको भने ।
सो राति नै गौमुल गाउँपालिका–६ मा रहेको सूर्योदय बहुउद्देश्यीय सहकारी संस्थाबाट ५० हजार समेत चोरी भएको सो सहकारीका अध्यक्ष श्याम रोकायाले बताए ।