ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

काठमाडौंमा डेंगी फैलाउने लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान

सर्वसाधारणले डेंगी रोगबारे थाहा पाउन यी विषयमा ध्यान दिनुस्

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले डेंगी रोग फैलाउने लामखुट्टेको बासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न समुदायको सचेतना बढाउने अभियान अगाडि बढाएको छ । असार ९ गतेबाट सबै वडामा कार्यक्रम अगाडि बढाएको महानगरले जनाएको छ ।

महानगरको स्वास्थ्य विभागले भनेको छ, ‘रोग सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन् । उनीहरुको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ । यसकारण पानी जम्न दिनु हुँदैन । यो काम व्यक्ति र समुदाय आफैँले गर्न सक्छन् । अभियानमा यस सम्बन्धी सचेतना बढाउने गरिएको छ ।’

कार्यक्रमका फोकल पर्सन ऋषि भुषालका अनुसार, यस अभियानमा ६४ जना स्वास्थ्यकर्मी र सबै (५५८ जना) महिला स्वास्थ्य स्वयम्सेविका परिचालन गरिएको छ । सडकमा पानी जमेका खाल्टा पुर्ने, पानीका भाँडा, टायर तथा अन्य स्थानमा जमेको पानी हटाउने, यसमा लामखुट्टेको प्रजनन प्रणाली र रोग फैलिन सक्ने अवस्थाका बारेमा सर्वसाधारणलाई बुझाउने काम अभियानमा क्रममा भइरहेका हुन् ।
रोगको लक्षण देखिएका बिरामीहरुको परीक्षण, औषधोपचारका लागि स्वास्थ्य प्रवद्र्धन केन्द्रमा व्यवस्था मिलाइएको भुषालले जानकारी दिए । ‘आकाशे पानी पर्ने मौसम सुरु भएको छ । यसरी परेको पानी सडक र सडक किनाराका खाल्टाखुल्टीमा जम्मा हुन्छ । यस्तै पानीमा लामुखट्टेको संख्या वृद्धि हुन्छ । लार्भा खोज्ने तथा नष्ट गर्दा यस्ता ठाउँलाई प्राथमिकतामा राखिएको छ ।’ उनले भने ।

महानगरले भनेको छ, ‘लार्भा नष्ट गर्न लार्भिसाइड औषधिको गरिएको छ । यो जैविक औषधि हो । यसले लामखुट्टे र त्यसका लार्भालाईबाहेक कसैलाई पनि हानी गर्दैन । यो विषादि होइन । औषधिलाई पानीको माथिलो भागमा छर्किने गरिन्छ । यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ । यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ । यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्छ । औषधिले डेंगीसहित, फिलारिया, औलो (मलेरिया) जस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुनेछ ।’

महानगरले भनेको छ, ‘यससँगै डेंगी रोगको बारेमा परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० बाट २४ सै घण्टा सञ्चालनमा छ । अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ । स्वास्थ्य प्रवर्धन केन्द्रहरुमा डेंगी रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जल लगायत आवश्यक औषधिको वितरणको व्यवस्था मिलाइएको छ ।’
महानगरपालिकाले सञ्चालन गरेको अभियान समुदायिक सचेतनाका लागि भएको र डेङ्गीबाट बच्न महानगरपालिका जत्तिकै महानगरबासी हरेकको समान दायित्व रहेको जनाएको छ । यसका लागि हरेक व्यक्तिले घर तथा आसपासमा पानी जम्न नदिने, पानी जम्ने ठाउँ पुर्ने, टायर, पानीका बोतल, गमला, फुलदानी, कुलर, फ्रिजजस्ता पानी जम्मा हुने ठाउँको नियमित सरसफाइ गर्नुपर्ने विभागले जनाएको छ । त्यसैगरी सबैले सरीर ढाकिने कपडा लगाउनु पर्ने महानगरको भनाइ छ ।

डेंगीका लक्षण

एक्कासी उच्च ज्वरो आउनु डेंगीको मुख्य लक्षण हो । यससँगै धेरै टाउको दुख्ने, आँखाको गेडी दुख्ने, रिँगटा लाग्ने, वाकवाकी लाग्ने, वान्ता हुने, सरीरमा बिमिरा आउने हुन सक्छ । हाडजोर्नी, मांसपेशी र ढाड दुख्ने पनि हुन सक्छ ।

लगातार वान्ता हुनु, वान्तामा रगत देखा पर्नु, धेरै पेट दुख्नु, सास फेर्न गाह्रो हुनु, गिजाबाट रगत बग्नु, बेहोस हुनु डेंगीको जटिल अवस्थाका लक्षण हुन् ।

 

Health Tips Ad Road Block