skip this News Page Tips Ad Road Block

८१५ रोपनी हदबन्दीको जग्गामा पतञ्जलीले रजगज गरेपछि सिआइबीले थाल्यो अनुसन्धान

काठमाडौं । गैरनाफामूलक ट्रस्टका रूपमा दर्ता भएको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालले उद्योग सञ्चालन गर्न हदबन्दी छुटमा ८१५ रोपनी जग्गा पाएको थियो । त्यही जग्गामा भएको हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान थालेको छ ।

२०६६ साल माघ १८ गतेको मन्त्रीपरिषद्को विधायन समितिको सिफारिसमा सरकारले काभ्रेपलाञ्चोक चलाल गणेश तथा श्रीखण्डपुरमा रहेको ८१५ रोपनी जग्गा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा खरिद गर्न दिने निर्णय गरेको थियो । सोही हदबन्दी छुटमा पतञ्जली योगपीठले पाएको जग्गा गैरकानुनी रूपमा बिक्री गरेकोबारे सिआइबीले विस्तृत अनुसन्धान सुरु गरेको हो । अनुसन्धान सुरु गर्नुभन्दा अगावै ब्युरोका प्रहरी उपरीक्षकसमेत रहेका होविन्द्र बोगटीको नेतृत्वको सिआइबी टोलीले हिनामिना भएको उक्त जग्गाको स्थलगत निरीक्षणसमेत गरेको छ ।

पतञ्जली योगपीठले आयुर्वेद फर्म चलाउन भनी अनुमति पाएको ८१५ रोपनी जग्गामध्ये ५९२ रोपनी जग्गा योगपीठले नै न्यूनतम मूल्यमा खरिद गरी ३५३ रोपनी जग्गा करोडौँ मूल्यमा अनधिकृत तवरले बिक्री गरेको प्रारम्भिक अवस्थामा पाइएको सिआइबीको भनाइ छ । योगपीठले ३५३ रोपनी जग्गा चार करोड रुपैयाँमा काष्ठमण्डप बिजनेस होम्स प्रालिलाई बेचेको देखिएको सिआइबीको प्रारम्भिक विवरणमा उल्लेख छ ।

अब सिआइबीले विस्तृतरुपमा थप अनुसन्धान थालेको हो ।

भारतीय योगगुरु रामदेवको नाममा रहेको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी बालकृष्ण आचार्य, शालिग्राम सिंह, राजेन्द्र सिंह र उमेश सर्राफको नाममा २०६४ पुस २० गते नेपालमा दर्ता भएको थियो । कम्पनीका नेपाल प्रमुख (ट्रस्टी) शालिग्राम सिंहमार्फत नेपालमा पतञ्जलीको आर्थिक कारोबार भइरहेको छ ।

Health Tips Ad Road Block