सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी नदीमा ‘२२ औँ हिमालयन ह्वाइट वाटर र्याफ्टिङ च्यालेन्ज’ सम्पन्न भएको छ । नेपालको जलयात्रा व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा)ले नेपाल पर्यटन बोर्डको प्रर्वद्धन र संस्कृतिक पर्यटन तथा सहकारी मन्त्रालयको सहकार्यमा असार १० र ११ गते भोटेकोशी नदीमा राष्ट्रिय स्तरको ‘२२ औँ हिमालयन ह्वाइट वाटर च्यालेन्ज’ आयोजना गरेको थियो ।
राष्ट्रिय स्तरको प्रतिस्पर्धात्मक साहसिक जलयात्रा प्रतियोगितामा र्याफ्टिङ र कायकिङबीच प्रतिस्पर्धा भएको थियो । नौ किलोमिटर लामो दूरी रहेको साहसिक जल पर्यटन खेलमा र्याफ्टिङतर्फ पुरूषको १३ टिम र महिलाको एक टिम गरी १४ टिम सहभागी भएको थियो भने कायाकिङमा २५ पुरूष र २ महिला गरी २७ जनाको सहभागिता रहेको थियो ।
र्याफ्टिङ प्रतियोगितामा २९ मिनेट ५१ सेकेन्डमा दूरी पार गरी स्थानीय भोटेकोशी एडभेन्चर क्लबले पहिलो स्थान हासिल गरेको थियो ।
३१ मिनेट ७ सेकेन्डमा दूरी पार गरी स्थानिय र्याफ्टिङ स्टारले द्वितीय स्थान हासिल गरेको थियो भने ३१ मिनेट ३४ सेकेन्डमा दूरी पार गरी त्रिभुवन आर्मी क्लब ‘ए’ ले तृतीय स्थान हासिल गर्न सफल भएको थियो ।
विजयी हुने प्रथम ,भोटेकोशी एडभेन्चर क्लबले ४० हजार रुपैयाँ, दोस्रो हुने र्याफ्टिङ स्टारले २० हजार रुपैयाँ र तृतीय स्थान प्राप्त गर्ने त्रिभुवन आर्मी क्लब लाई १० हजार रुपैयाँका साथै विजेता खेलाडीहरूले मेडल र प्रमाण पत्रले सम्मान गरिएको थियो ।
कायाकिङ खेलतर्फ २७ सहभागीलाई पछाडि पार्दै सुरेन्द्र माझीले ३० मिनेट ५१ सेकेन्ड दूरी पार गरी प्रथम स्थान हासिल गरी २० हजार रुपैयाँ नगद जित्न सफल भएका छन्। कृष्ण खड्काले ३० मिनेट ५४ सेकेन्डमा सो दूरी पार गरेर दोस्रो भई १० हजार रुपैयाँ जितेका छन् । विजय माझीले ३१ मिनेट ०३ सेकेन्डमा सो दूरी पार गरेर तृतीय भई ५ हजार रुपैयाँ नगद जितेका छन् । विजेताहरूलाई सिल्ड मेडल र नगद सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।
कार्यक्रम समापन गर्दै नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्याजमेन्ट (नाथम)का विभागीय प्रमुख अजय ढकालले नेपालमा साहसिक पर्यटनको पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै यस प्रकारका कार्यक्रमको आयोजनाले नेपालको साहसिक पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताए ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक रोहिणी खलालले नेपालको समग्र पर्यटनमा जल पर्यटन एउटा महत्वपूर्ण प्रडक्ट भएको उल्लेख गर्दै यस प्रकारका कार्यक्रमको प्रवद्र्धनमा नेपाल पर्यटन बोर्ड सधैं साथमा रहेर सहयोग गर्दै आईरहको बताए ।
नेपाल एशोसिसियसन अफ र्याफ्टिङ एजेन्सिज (नारा)का अध्यक्ष शिव अधिकारीले नेपालको जल पर्पटन प्रर्वद्धनका लागि नाराले विगत २२ वर्षदेखि यस प्रकारका प्रतियोगिता आयोजना गर्दै आईरहेको बताउँदै आउने वर्ष नाराको स्वर्ण महोत्सव भएकोले थप प्रभावकारी रुपमा कार्यक्रम आयोजना गरिने जानकारी दिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका सदस्यद्वय नरेशलाल ,श्रेष्ठ, राजकुमार कार्की, राष्टिङ विज्ञ सुदीपराज गौतम,नाराका महासचिव नारायण श्रेष्ठ लगायतले नेपालको जल पर्यटनको प्रर्वद्धनमा गर्नुपर्ने कार्य र आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धनमा जलयात्राले पुर्याउने सहयोग बारे चर्चा गरेका थिए ।
कार्यक्रममा सोट्टो नेपाल, पोखरा पर्यटन परिषद्, भिटोफ नेपाल, पर्यटन व्यवसायी, पर्यटन पत्रकार लगायत पर्यटनसँग सम्बन्धित संघसंस्थाका प्रमुख तथा प्रतिनिधीको सहभागिता रहेको थियो ।