काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले विभिन्न सहकारीबाट गोर्खा मिडियामा प्रवाह भएको रकमको विवरण झिकाउने निर्णय गरेको छ । सिंहदरबारमा बुधबार बसेको समितिको बैठकले विभिन्न सहकारीमार्फत गोरखा मिडिया नेटवर्कमा प्रवाह भएको रकमको विभिन्न कागजात उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको समिति संयोजक सुर्य बहादुर थापा क्षेत्रीले जानकारी दिए ।
समितिको कार्यादेशको अनुसूची २ मा रहेका ९ वटा सहकारीका सम्दर्भमा सम्बन्धीत निकायबाट कागजात मगाउने निर्णय समितिले गरेको उनले जानकारी दिए । ती सहकारीहरुको साधारण सभाको प्रतिवेदन विवरण, लेखा परीक्षण प्रतिवेदन, सञ्चालक समितिको विवरण, लेखा सुपरिवेक्षण र अन्य आवश्यक वित्तीय विवरणका साथै विभिन्न सहकारीमार्फत गोर्खा मिडियामा प्रवाह भएको रकमको स्थितिसमेत ६ वटा बुँदामा कागजात माग गर्ने निर्णय भएको संयोजक थापाले उल्लेख गर्नुभयो ।
उनले गोर्खा मिडियामा विभिन्न सहकारीबाट प्रवाह भएको रकममा समितिको चासो केन्द्रीत रहेको जिकिर गरे । त्यस्तै थापाले यसअघि गठन भएका विभिन्न समिति, आयोग लगायतको प्रतिवेदन प्राप्त भएको र अध्ययनका लागि समिति सदस्यहरुलाई वितरण गरिएको जानकारी दिए । सभापति थापाले सहकारी छानविनमा समग्ररुपमा अध्ययन गरिरहेको भन्दै निष्पक्ष रुपमा छानविन हुने दाबी गरेका छन् । बुधबार बसेको बैठकले नै समस्याग्रस्त सहकारीको छानविनका लागि सहकारीविज्ञ दिपक प्रसाद बास्कोटा र केशव बडालसँग परामर्श गरेको थियो ।
गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानविन समिति गठन भएको थियो ।