काठमाडौं । सहकारी संस्थाहरुको बचत रकम दुरुपयोग भएको सम्बन्धमा छानबिन गर्न एमाले सांसद सूर्यबहादुर थापाको सभापतित्वमा गठित संसदीय छानबिन विशेष समितिले कार्य प्रारम्भ गरेको छ । समितिले गठन एकको एक सातापछि बुधबार सभामुख देवराज घिमिरेको उपस्थितिमा पहिलो बैठक बसेर कार्य थालेको जनाएको हो । समिति सञ्चालन कार्यविधि र आन्तरिक कार्ययोजनाको निर्माणपछि शुक्रबारदेखि समितिले दु्रत गतीमा काम सुरु गर्नेछ तर समितिले पाएको तीन महिनाको समयसीमा भने पहिलो बैठकबाटै सुरु हुनेछ ।
कार्यविधि र आन्तरिक कार्ययोजनासहितको कार्यतालिका तयारी सकिएपछि शुक्रबार बैठक बस्ने र सचिवालयले कार्यविधि र कार्यतालिका तयार पारेर बैठकमा पेस गर्ने बताइएको छ ।
सहकारीको रकम हिनामिनामा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमेत संलग्न भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लामो समय संसद् अवरुद्ध गरेपछि समिति गठन भएको थियो । संघीय संसदमा बजेट पेस गर्न नै अवरोध गर्ने चेतावनीपछि राजनीतिक सहमतिमा जेठ १५ गते समिति गठन भएको थियो ।
समितिको सभापतिमा नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापालाई चयन गरिएको छ । त्यसैगरी समितिमा नेपाली कांग्रेसका तर्फबाट बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, नेकपा (एमाले) का तर्फबाट सरिता भुसाल, नेकपा (माओवादी केन्द्र) का तर्फबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट धु्रव बहादुर प्रधान सदस्य छन् । समितिलाई सहकारी समस्या समाधानका लागि कानुनी र संस्थागत प्रणालीको नियमन, सुपरिवेक्षण तथा पारदर्शितामा सुझाव दिने र समस्याग्रस्त सहकारीको रकम बचतकर्तालाई फिर्ता गर्ने सम्बन्धमा उपाय सुझाउने अधिकार क्षेत्र तोकिएको छ ।