काठमाडौं । नेपालको पहिलो एनएबिएच सर्टिफाईड तथा अन्र्तराष्ट्रियस्तरको सेवा सुविधासम्पन्न अस्पतालको अवस्था बुझ्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवले आज नेपाल मेडिसिटी अस्पतालको अध्ययन भ्रमण गरेका छन् । भ्रमणको क्रममा उनले यस अस्पतालले प्रदान गर्दै आएको उपचार सेवा,गुणस्तर सरसफाईका साथसाथै सरकारको स्वास्थ्य कार्यक्रमबारे जानकारी लिएका छन् । उनले अस्पतालको हेलिप्याड, आइसियु, अपरेशन थिएटर, डायलासिस्तथा ग्यास्ट्रो विभागको अवलोकन गरे ।
विगत पाँच वर्षदेखि अस्पतालले विपन्न नागरिक औषधि उपचार योजना लागू गर्दै आएको छ । यसबाट झण्डै दुई हजार मानिसहरुले उपचार सेवा प्राप्त गरेका छन् । हालसम्म ३०४ जनाले मुटु सम्बन्धि उपचार तथा शल्यक्रिया गरेका छन् भने, १५४३ जनाले क्यान्सर सम्बन्धि र १४६ जनाले डाइलासिस् सेवा लिएको अस्पताल प्रशासनले जनाएको छ । अवलोकनको क्रममा स्वास्थ्य मन्त्री यादवले अस्पतालहरुको वर्गीकरण, मेडिकल टुरिजम तथा अस्पतालमा हुनुपर्ने सेवा सुविधाको विषयमा छलफल गरेका छन् ।
हजारौं संख्यामा नेपालीहरु उपचारका लागि विदेशीनु पर्ने बाध्यताको विषय उठान गर्दै नेपाल मेडिसिटीका अध्ययक्ष डा. उपेन्द्र महतोले नेपालका अस्पतालहरुलाई नै अन्र्तराष्ट्रियस्तरको सेवा सम्पन्न बनाउन सके नेपाल मेडिकल टुरिजमको हब बन्न सक्ने बताए । भ्रमणकै क्रममा अस्पतालले सहज रुपमा औषधि उपलब्ध हुुनुपर्ने, औषधि निर्यातमा औषधि व्यवस्था विभागका झन्झटिला प्रक्रियालाई सहजिकरण गर्नुपर्ने, क्यान्सर रोगका लागि आवश्यक साइक्लोेट्रोन नेपालमै उत्पादन हुनुपर्ने तथा अन्र्तराष्ट्रिय स्तरको अस्पताल बनाउन विदेशी दक्ष चिकित्सकहरुलाई पनि छोटो समयका लागि नेपालमा कामगर्ने अनुमति दिइनुपर्ने जस्ता विषयमा छलफल गरेको छ ।