skip this News Page Tips Ad Road Block

युवा खेलाडीले सुसज्जित नेपाली क्रिकेट टोली विश्वकपमा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । युवा खेलाडीले सुसज्जित नेपालले आईसीसी टी–२० विश्वकप २०२४ मा विश्वका बलिया खेलाडी रहेका देशसँग प्रतिष्पर्धा गर्दै छ । यसले सारा नेपाली खेलप्रेमीको ध्यान त क्रिकेटतिर जानेछ नै विश्वको ध्यान नै नेपालतिर तानिँदैछ ।

एक दशकपछि मंगलबार नेपाली क्रिकेट टिम विश्वकपमा सहभागिता जनाउन लागेको हो । नेपालको पहिलो खेल नेदरल्यान्ड्ससँग रहेको छ । खेल नेपाली समय अनुसार राति ९ः१५ बजे अमेरिकाको डालसमा रहेको ग्राड प्रेरी क्रिकेट रंगशालामा हुनेछ । नेपाललाई पहिलो खेलमा जित निकै आवश्यक रहेको छ । समूह डी मा नेपाल, नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका छन् । समूह डी को पहिलो खेलमा श्रीलंकालाई दक्षिण अफ्रिकाले ६ विकेटले हराएको छ । ग्राण्ड प्रेरीमा जारी टी–२० विश्वकपमा नेपाल र नेदरल्यान्ड्सबीच दोस्रो खेल हुनेछ। यसअघि क्यानडा र अमेरिकाबीचको पहिलो खेल भएको थियो ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली टिमलाई जितको शुभकामना दिएका छन् । प्रधानमन्त्री प्रचण्डले भनेका छन्,‘ एक दशकपछि आज नेपाली क्रिकेट टिम विश्वकपमा खेल्दैछ, यसले नेपालको गौरव थप बढाएको छ, विश्वको ध्यान नेपालतर्फ खिचिएको छ। देशको प्रतिष्ठा बढाउन निरन्तर मेहेनत, सङ्घर्ष र सफलता प्राप्त गरेकोमा नेपाली क्रिकेट टिमप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। मेरो नेतृत्वको सरकारले खेल क्षेत्रको विकास र खेलाडीहरूको प्रोत्साहनका लागि निरन्तर महत्वपूर्ण निर्णयहरू गरी कार्यान्वयन गर्दै आइरहेको छ। सगरमाथा र बुद्धको देश भनेर चिनिने नेपाल अब क्रिकेटको देशका रूपमा समेत स्थापित हुँदैछ। मेरो विश्वास छ, विश्वकपले नेपालको पहिचान थप उच्च बनाउनेछ, नेपाली टिमलाई ऐतिहासिक सफलता प्राप्त हुनेछ। उत्कृष्ट प्रदर्शनका लागि नेपाली टिमलाई मेरो हार्दिक शुभकामना छ।’

रोहित पौडेलको कप्तानीमा रहेको नेपाली युवा टिमले जित्ने आशा गरिएको छ ।

Health Tips Ad Road Block