skip this News Page Tips Ad Road Block

आँखाको दृष्टिसमेत गुम्नसक्ने रोग निम्त्याउने सेतो पुतलीदेखि सावधान रहौं !

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आँखाको दृष्टिसमेत गुम्नसक्ने रोग निम्त्याउने सेतो पुतलीदेखि सावधान र सचेत बन्नुपर्ने भन्दै सरकारी निकायले सबैको ध्यानाकर्षण गराएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले एक सूचनामार्फत सबैलाई सचेत रहन भनेको हो । यस्ता पुतलीका कारण शापू भनने रोग निम्तने केन्द्रको भनाइ छ ।

शापू कस्तो रोग हो ?

शापू एक दृष्टिनाशक रोग हो । प्राय वर्षायामपछि भदौदेखि मंसिर महिना सम्म विशेष गरी नेपालको मध्य पहाडी भेगमा शापू महामारीको रुपमा देखिने गरेको छ । यो रोगको लक्षणहरु देखापरेको २४ देखि ४८ घण्टा सम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ । यो सबै उमेरमा देखिन्छ विशेषगरी बालबालिकामा बढी देखिन्छ ।

शापू रोग के कारणले लाग्छ ?

हालसम्म सेतो पुतली (मोथ) लाई शापूको कारक मानिएको छ तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरुलाई पनि यो रोग देखा परेको छ । अन्य जीवाणु र बिषाणुले समेत यो रोग लागेको पाइएको छ ।

 

शापू रोगका लक्षणहरु के–के हुन् ?

 

–एक्कासि एउटा मात्र आँखा रातो हुनु र चिप्रा नलाग्नु ।

– उज्यालोमा हेर्न नसक्नु ।

– आँखा दुख्नु ।

– उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु ।

– आँखाको दृष्टिमा तत्कालै कमी हुनु ।

 

शापूको रोकथामा कसरी गर्ने ?

 

– सेतो पुतलीको संसर्गबाट टाढै रहने ।

– धेरै उज्यालो सेतो बत्ती नबाल्ने ।

– साँझ र राती झ्याल ढोका बन्द गर्ने ।

– सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने ।

– सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने ।

 

समयमै उपचार भएमा यो रोग निको हुन्छ तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्ने केन्द्रले जनाएको छ।

यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जान र आफूखुसी औषधि वा जडिबुटीको प्रयोग नगर्न पनि सुझाव दिइएको छ ।

Health Tips Ad Road Block