काठमाडौं । आज ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस हो । अन्तर्राष्ट्रिय सगरमाथा दिवसको नारा ‘विश्वको सर्वोच्च शिखर सगरमाथा, नेपालको पहिचान र गौरव’ रहेको छ ।
यस अवसरमा काठमाडौंमा प्रभातफेरी गरिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको ७१ वर्ष पुगेको अवसरमा यस दिवस मनाइएको हो ।
नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिख अर्थात् आजकै दिन पहिलोपटक सगरमाथामा पाइला राखेका थिए । शेर्पा र हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेको स्मरण गर्दै सगरमाथा आरोहणको ७१औँ वर्ष पुगेको अवसरमा नेपाल पर्वतारोहण सङ्घ (एनएमए)को मुख्य आयोजनामा प्रभातफेरी गरिएको हो ।
प्रभातफेरीमा टान, हान, नाट्टा, सोट्टो, यूनिट्राभ, सरकारी अधिकारी, पर्यटन पत्रकार, ठमेल पर्यटन विकास परिषद्लगायतका विभिन्न पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाका अध्यक्ष पदाधिकारी एवं सदस्यहरुको सहभागिता रहेको थियो ।
सगरमाथामा मानव पाइला पुगेसँगै नेपालमा पर्वतीय पर्यटनको सुखद् सुरुआत भएको थियो ।
अर्थमन्त्री वर्षमान पुनद्वारा मङ्गलबार सङ्घीय संसद्का दुवै सदनको बैठकमा प्रस्तुत आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा प्रत्येक वर्ष मे २९ लाई सगरमाथा अन्तर्राष्ट्रिय विशेष दिवसका रुपमा मनाइने र हिमाली पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने स्वदेशी तथा विदेशी व्यक्ति, सङ्घसंस्थालाई सम्मान गरिने उल्लेख गरिएको छ ।