काठमाडौं । आयातको कमजोर अवस्था र रेमिट्यान्समा भएको वृद्धि एवं सेवा क्षेत्रमा सुधार देखिँदै गएपछि विदेशी विनिमय सञ्चिति बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक अवस्थाअनुसार चालु आर्थिक वर्ष २०८/८१ को तथ्याँकले विदेशी विनिमय सञ्चिति २४.२ प्रतिशतले बढेर १९ खर्ब नाघेको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति चैत मसान्तमा १९ खर्ब ११ अर्ब ८६ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।
यसले अहिलेकै अवस्थामा १५ महिनाको वस्तु आयात धान्नसक्ने केन्द्रीय बैंकले जनाएको छ । अहिले रहेको विदेशी विनिमय सञ्चितीले १२.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त देखिन राष्ट्र बैंकले जनाएको छ । आयात घट्नु, पर्यटक आगमनमा क्रमश: वृद्धि र रेमिट्यान्स बढ्नाले विदेशी मुद्रा सञ्चिती बढ्दै गएको हो ।
राष्ट्र बैंकका अनुसार मूल्वृद्धि ४.६१ प्रतिशत रहेको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १९.८ प्रतिशतले वृद्धि भई १० खर्ब ८२ अर्ब ६२ करोड पुगेको छ । चालु खाता १ खर्ब ७९ अर्ब ४८ करोडले बचतमा रहेको छ । यस अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ६५ अर्ब १६ करोडले बचतमा रहेको छ । व्यापार घाटा २.८ प्रतिशतले कमी आई १० खर्ब ५३ अर्ब ४२ करोड पुगेको छ ।