काठमाडौं । विवादमा परेपछि राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले राजीनामा दिएका छन् ।
एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा छाप्ने मन्त्रिपरिषद्को निर्णयको विरुद्ध अभिव्यक्ति दिएपछि विवादमा परेका डा. नेपालले पदबाट राजीनामा दिएका हुन् । राष्ट्रपति कार्यालयले डा. नेपालको राजीनामा स्विकृत गरेको छ ।

गत वैशाख २० गतेको मन्त्रिपरिषद्को बैठकले कालापानी, लिपुलेक, लिम्पियाधुरा भूभागलाई समेटेर जारी गरिएको नयाँ नक्सा सय रुपैयाँको नोटमा राख्ने निर्णय गरेको थियो । त्यसपछि डा. नेपालले सञ्चार माध्यममा प्रतिक्रिया दिँदै भारतसँग वार्ता भइरहेको समयमा नयाँ नक्सा नोटमा राखिनु गलत भएको भन्ने अभिव्यक्ति दिएका थिए ।
नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा राख्ने निर्णय गरेकोमा भारत भने असन्तुष्ट बनेको छ ।