भारत । भारतस्थित नेपाली दूतावासको आयोजनामा भारतमा प्रि नेपाल इन्भेष्ठमेन्ट समिट २०२४ आयोजना गरिएको छ । आगामी वैशाख १६ र १७ मा काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको पूर्वसन्ध्यामा मित्रराष्ट्र भारतका सम्भाव्य लगानीकर्ता र उद्यमी, व्यवसायीसँग लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत श्री सुशील भट्टले सघन अन्तर्क्रिया गरेका छन् । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनले सम्भाव्य लगानीकर्तालाई दिएको भिडियो सन्देशका साथै लगानी सम्मेलनसम्बन्धी प्रवर्द्धनात्मक सामाग्रीहरु प्रस्तुत गरिएको थियो।
कार्यक्रममा भारतका लागि नेपालका राजदूत डा. शंकरप्रसाद शर्माले भारत नेपालको प्रत्यक्ष वैदेशिक लगानीको प्रमुख स्रोत मुलुक रहेको भन्दै भारतीय लगानीकर्तालाई नेपालमा लगानी गरी लाभ लिने प्रशस्त अवसर रहेको बताए । उनले जलविद्युत, आइसीटी, पर्यटन, कृषि प्रशोधन, म्यानुफ्याक्चरिङ लगायत सबै क्षेत्रमा लगानी गर्न खुला रहेको भन्दै लगानी सम्मेलनलाई नेपाल सरकारले व्यावसायिक वातावरण सुधार गरी प्रतिस्पर्धी लगानी गन्तव्यका रूपमा विकास गर्न भएका प्रयासहरूबारे जानकारी गराउने र लगानीकर्ताको सुझाव अनुसार व्यवसाय गर्ने प्रक्रियामा सरलीकरण गर्ने, अवरोधहरू हटाउने प्रतिवद्धता गर्ने मञ्च भएकाले लगानी सम्मेलनमा सहभागी भइ नेपालमा लगानीका अवसर पहिल्याउन भारतीय लगानीकर्ताहरूलाई आग्रह गरे ।
कार्यक्रममा नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा भारतीय लगानीका विभिन्न परियोजनाहरूको चर्चा गर्दै नेपाल सरकार र लगानी बोर्डबाट प्रभावकारी सहजीकरण भइरहेको बताए । सार्वजनिक(निजी साझेदारीका परियोजनाहरूमा परियोजना विकास सम्झौताले कानुनी दस्तावेजकै रूपमा सरकार र विकासकर्ताका जिम्मेवारी परिभाषित गर्ने हुँदा यसमा उल्लिखित विहंगम विषयवस्तुले परियोजना कार्यान्वयन र सञ्चालनलाई निर्दीष्ट गर्ने उनले बताए ।
उनले भारतीय लगानीका कम्पनीहरूले नेपालमा राम्रो प्रतिफल आर्जन गरिरहेको भन्दै पुनर्लगानीका लागि आएका प्रस्तावहरूलाई स्वागत गर्नुका साथै अन्य लगानीकर्तालाई पनि पुनर्लगानीका लागि उत्प्रेरित गरिरहेको बताए । लगानी सम्मेलनमा भारतबाट ठूलो संख्यामा उद्यमी व्यवसायीहरूको सहभागिता रहने जानकारी प्राप्त भएको भन्दै स्वागत गर्न आतुर रहेको उनले उल्लेख गरे ।
नेपालका लागि भारतीय पूर्व राजदूत रणजीत रायले कानुनी सुधारले लगानीकर्तालाई अनुमानयोग्यता र पारदर्शिता प्रदान गर्ने भन्दै लगानी सम्बन्धी कानुन सुधारका लागि नेपालले गरेको पहलको प्रशंशा गरे । उनले बौद्धिक सम्पत्तिको अधिकारसम्बन्धी कानुनसमेतलाई समयसापेक्ष बनाउन सुझाव दिए । अर्का पूर्व राजदूत मञ्जीवसिंह पुरीले साना मझौला उद्यमदेखि ऊर्जा क्षेत्रसम्म भारतीय लगानीकर्ताहरूको ठूलो लगानी रहेको चर्चा गर्दै नेपालको द्रुत आर्थिक विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने विषय सरकारको प्राथमिकतामा रहनुपर्नेमा जोड दिए ।