skip this News Page Tips Ad Road Block

अबदेखि वैदेशिक रोजगारीमा जाने श्रमिकको ‘जब डिस्क्रिप्सन’ अनिवार्य !

काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीका लागि नेपाली कामदार विदेश पठाउने प्रक्रियामा माग प्रमाणीकरणलाई थप व्यवस्थित बनाएको छ।

मन्त्रालयमा साउन १३ गते बुधवार गरिएको मन्त्री स्तरीय निर्णयअनुसार अबदेखि वैदेशिक रोजगारीका लागि माग प्रमाणीकरण गर्दा कामदारले गर्नुपर्ने कामको विस्तृत कार्य विवरण (जब डिस्क्रिप्सन) अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ। साथै, काम कम्पनी भित्र (इनडोर) वा कम्पनी बाहिर (आउटडोर) कुन प्रकारको हो भन्ने स्पष्ट खुलाउनुपर्नेछ। यदि दुवै प्रकारका काम गर्नुपर्ने अवस्था भए दुवैको कार्य(समयसमेत उल्लेख गरी प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ।

यसअघि कामको शीर्षक मात्र उल्लेख भए पनि माग प्रमाणीकरण हुने व्यवस्था रहेकामा अब विस्तृत कार्य विवरण अनिवार्य गरिएको हो। गन्तव्य मुलुकका रोजगारदाताले प्रस्ताव गरेका सेवा(सर्त, पारिश्रमिक, सुविधा, कार्य वातावरण तथा सम्झौताका अन्य पक्षहरू वैदेशिक रोजगार सम्बन्धी माग पत्र जाँचबुझ निर्देशिका, २०७५ बमोजिम परीक्षण गरी प्रमाणीकरण गरिँदै आएको छ।

मन्त्रालयका अनुसार नयाँ व्यवस्थाले वैदेशिक रोजगारीका क्रममा नेपाली श्रमिकमाथि हुन सक्ने शोषण तथा ठगी न्यूनीकरण गर्न, श्रमिकको सेवा सर्तको सुरक्षा सुनिश्चित गर्न तथा विदेश पठाउने प्रक्रियालाई थप न्यायोचित, पारदर्शी र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।

Health Tips Ad Road Block