skip this News Page Tips Ad Road Block

दूर दराजसम्म फोरजी सेवाको विस्तार, फाइभजी सेवाको सुरुआत गरिने !

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ लाई नेपालको दूरसञ्चार सेवामा अभूतपूर्व सुधारको वर्ष बनाउने लक्ष्य लिएको छ । त्यसअन्तर्गत टेलिफोन तथा इन्टरनेट सेवाको पहुँच विस्तार एवम् गुणस्तर सुधारमा उल्लेखनीय परिवर्तन देखिने गरी काम गरिनेछ । मन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रालय र मातहतका निकायलाई यही किसिमको सुधारको निर्देशन दिएका छन् ।

गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा गर्दै उनले दूर दराजसम्म फोरजी सेवाको विस्तार, फाइभजी सेवाको सुरुआत, सेवाको गुणस्तर सुधार तथा नागरिकलाई प्रभावकारी सेवा प्रवाहलाई मन्त्रालयले चालु आर्थिक वर्षको प्रमुख प्राथमिकतामा राखेको स्पष्ट पारेका छन् ।

परिणाम देखिने गरी काम गर्ने भन्दै उनले दूरसञ्चार क्षेत्रमा आवश्यक नीतिगत, कानुनी तथा अन्तरनिकाय समन्वयमा मन्त्रालयले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । काममा कुनै ढिलासुस्ती भए त्यो स्वीकार्य नहुने उनको चेतावनी रहेको छ ।

कर्मचारीलाई निर्देशन दिँदै उनले भने , “सरकारले राखेको लक्ष्य र उद्देश्य प्राप्त नगरी बस्न कसैलाई पनि छुट छैन । फोरजी विस्तार र फाइभजी सेवा सुरु गर्ने विषयमा नतिजा हासिल गर्न नसक्ने अवस्था अब स्वीकार्य हुँदैन । म आफै हरेक दिन खटिन तयार छु । नीतिगत वा कानुनी रूपमा जे सहयोग आवश्यक पर्छ, त्यसका लागि मन्त्रालय पूर्ण रूपमा तयार छ । कुन निकायसँग कस्तो समन्वय गर्नुपर्ने हो, त्यसमा हामी सबै जिम्मेवार भएर अघि बढ्नुपर्नेछ ।”

“काम नगरेर बस्न कसैलाई पनि छुट छैन । अन्तरनिकाय सम्बन्ध र समन्वय कमजोर रहेको महसुस गरिरहेको छु । यस्तो अवस्था दोहोरिनु हुँदैन । विधि र कानुनको पूर्ण पालना गर्दै नतिजामुखी रूपमा काम गर्नुहोला,” सञ्चारमन्त्री तिमिल्सिनाले भने ।

Health Tips Ad Road Block