काठमाडौं । सरकारले नागरिक सेवामा केन्द्रित ‘सरकारी कुरियर सेवा’ ले देशका विभिन्न स्थानमा लाखौं सेवाग्राहीलाई सेवा दिइसकेको जनाएको छ । सूचना तथा सञ्चार मन्त्रालयले हुलाकमार्फत हालसम्म हुम्लाबाहेक सबै जिल्लामा राहदानी, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्र, स्वास्थ्य प्रयोगशाला नमुनालगायतका सामग्री नागरिकको घरसम्मै पुर्याउन थालिएको जनाएको छ।
यसअन्तर्गत हालसम्म हुलाकमार्फत २,३७,८४० वटा राहदानी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ढुवानी गरिएको छ भने ८,१८० वटा राहदानी सेवाग्राहीको घरमै पुर्याइएको छ। तर राहदानी लिने त्रिपुरेश्वरमा सेवाग्राहीको लाम उस्तै छ ।
सवारी चालक अनुमतिपत्रतर्फ १०,३८,५२३ वटा अनुमतिपत्र सम्बन्धित यातायात कार्यालयसम्म ढुवानी गरिएको छ भने १,०९४ वटा लाइसेन्स सेवाग्राहीको घरमै पुगेर हस्तान्तरण गरिएको छ। यता यी कार्यालयहरुमा पनि सेवाग्राहीको भिड देखिएको छ ।
यसैगरी हालसम्म त्रिभुवन विश्वविद्यालयका २६३ वटा शैक्षिक प्रमाणपत्र तथा विभिन्न १७ वटा अस्पतालका १,४३६ वटा स्वास्थ्य प्रयोगशाला नमुना ढुवानी गरिसकिएको छ। सरकारले गरेको कार्य प्रशंशनीय छ । तर उपभोक्ताहरु भौतिकरुपमै लाइन बस्ने अवस्थाको भने अन्त्य गर्नेतर्फ ध्यान दिनुपर्ने देखिन्छ ।

















