skip this News Page Tips Ad Road Block

नारायणी अस्पताल घटनामा एक जना पक्राउ

वीरगञ्ज । नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएको घटनापछि चिकित्सकमाथि भएको आक्रमण आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको पहल र निरन्तर समन्वयपछि घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको हो।

घटना लगत्तै मन्त्री मेहताले गृहमन्त्री, नेपाल प्रहरीका महानिरीक्षक, पर्साका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका अधिकारीहरू, नारायणी अस्पताल प्रशासन तथा नेपाल मेडिकल एसोसिएसनका पदाधिकारीहरूसँग निरन्तर समन्वय गर्दै घटनाको सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कानुनी दायरामा ल्याउन आवश्यक पहल गरेकी थिइन् ।

घटनाको वास्तविक अवस्था बुझ्न, परिस्थितिको अनुगमन गर्न तथा आवश्यक समन्वय गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट प्रतिनिधि टोली वीरगञ्ज पठाइएको छ।

मन्त्रालयका अनुसार घटनामा संलग्न एक जना पक्राउ परिसकेका छन् भने थप अनुसन्धान प्रक्रिया अगाडि बढिरहेको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा भूमिकाबारे समेत अनुसन्धान भइरहेको छ।

यसैबीच घटनामा घाइते भएका मेडिकल अफिसर डा. प्रमोद रामको उपचारमा कुनै कमी हुन नदिन मन्त्री मेहताले सम्बन्धित निकायलाई निर्देशन दिएकी छन् । उनको उपचारको आवश्यक व्यवस्था नेपाल सरकारले मिलाएको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य संस्थामा हुने कुनै पनि प्रकारको हिंसा स्वीकार्य नहुने भन्दै मन्त्री मेहताले दोषीमाथि कानुनबमोजिम कारबाही हुने र स्वास्थ्यकर्मीको सुरक्षा तथा नागरिकले सुरक्षित वातावरणमा उपचार सेवा पाउने अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।

Health Tips Ad Road Block