काठमाडौँ । नेपाल स्कुल स्पोट्र्स फेडरेसन (एनएसएसएफ) र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) बीच ५ वर्षेका समझदारी पत्रमा हस्ताक्षर भएको छ। यस द्विपक्षीय सम्झौताको मुख्य उद्देश्य देशभरिका हिसानमा आबद्ध उच्च माध्यमिक विद्यालय र कलेजहरूमा संस्थागत विद्यालय खेलकुदको व्यवस्थित विकास, प्रवद्र्धन र समन्वय गर्नु रहेको एनएसएसएफले जनाएको छ ।
उक्त औपचारिक समझदारी पत्रमा एनएसएसएफका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठ र हिसानका केन्द्रीय अध्यक्ष युवराज शर्माले हस्ताक्षर गरेका छन् । हस्ताक्षर समारोहमा एनएसएसएफका उपाध्यक्ष मोहन कुमार कार्की, अन्तर्राष्ट्रिय स्कुल स्पोट्र्स फेडरेसनका कार्यकारी समिति सदस्य राजकुमार कार्की, हिसानका महासचिव रामहरि सिलवाल, एनएसएसएफका बोर्ड सदस्य तथा सीएफओ सोविनराज रेग्मी, एनएसएसएफका बोर्ड सदस्य खड्ग बहादुर थापा र एनएसएसएफकै बोर्ड सदस्य पदम रानाको उपस्थिति रहेको थियो ।
प्रमुख विशेषता तथा योजनाहरूः
क्षेत्रीय तथा राष्ट्रिय प्रतियोगिताहरूः दुवै संस्थाहरू मिलेर क्षेत्रीय, प्रादेशिक र राष्ट्रिय स्तरका व्यवस्थित खेलकुद प्रतियोगिताहरू आयोजना र सञ्चालन गर्ने ।
वार्षिक मुख्य प्रतियोगिताहरूः यस रणनीतिक साझेदारी अन्तर्गत राष्ट्रिय खेलकुद परिषद् ९राखेप० बाट आधिकारिक मान्यता प्राप्त गर्ने गरी निम्न वार्षिक खेलकुद प्रतियोगिताहरू सुरु गरिनेछः
यू–१९ बास्केटबल ३ बाइ३ च्याम्पियनसिप
एनएसएसएफ हिसान कप
एनएसएसएफ हिसान कमब्याट गेम्स
स्कुल प्रिमियर लिग
पूर्वाधार र खेल विज्ञानः प्रतियोगिताहरू बाहेक, यस समझदारी पत्रले स्थानीय खेलकुद पूर्वाधारको स्तरोन्नति गर्ने, आबद्ध विद्यालयहरूलाई आधुनिक खेलकुद सामग्री उपलब्ध गराउने र एनएसएसएफ तथा आइएसएफ एकेडेमीको समन्वयमा खेल विज्ञान कार्यक्रम, कार्यशाला र शारीरिक शिक्षा पाठ्यक्रमहरू लागू गर्ने म्यान्डेट दिएको छ।
अन्तर्राष्ट्रिय अवसरः यस ५ वर्षे साझेदारीको एक महत्त्वपूर्ण पक्ष नेपाली विद्यार्थी–खेलाडीहरूका लागि उत्कृष्ट अन्तर्राष्ट्रिय खेल मञ्चको ढोका खोल्नु हो। एनएसएसएफले हिसान आबद्ध संस्थाहरूका खेलाडीलाई अन्तर्राष्ट्रिय स्कुल स्पोट्र्स फेडरेसन द्वारा सञ्चालित प्रतिष्ठित विश्वव्यापी प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गर्ने आधिकारिक अवसर प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।
अनुगमन र कोष परिचालनः
यी वृहत् कार्यक्रमहरू सञ्चालन गर्न दुवै निकायले संयुक्त रूपमा संस्थागत प्रायोजन, निजी सहयोग र सरकारी अनुदानहरू जुटाउने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रमलाई पारदर्शी र जवाफदेही बनाउन एनएसएसएफ र हिसानका नेतृत्व सम्मिलित एक ’संयुक्त अनुगमन समिति’ तत्काल गठन गरिनेछ, जसले परियोजनाको प्रगति समीक्षा गर्ने, प्रदर्शनको मूल्याङ्कन गर्नेछ।





















