skip this News Page Tips Ad Road Block

नेपाल विद्युत प्राधिकरणलाई आवश्यक यान्त्रिक क्रेन उपलब्ध गराइने !

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । कर्णाली प्रदेशमा विद्युत सेवा थप भरपर्दो र प्रभावकारी बनाउने उद्देश्यले नेपाल विद्युत प्राधिकरणलाई आवश्यक यान्त्रिक क्रेन उपलब्ध गराइने भएको छ। यस निर्णयसँगै विद्युत अवरोधपछि मर्मत कार्य छिटो सम्पन्न गर्न सहज हुने अपेक्षा गरिएको छ।

गत असारको दोस्रो सातामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले कर्णाली प्रदेशसहित तीन प्रदेशका पाँच जिल्लाको स्थलगत अनुगमन गरेका बेला सुर्खेतलगायत क्षेत्रमा लाइन ट्रिपिङका कारण पटक–पटक विद्युत आपूर्ति अवरुद्ध हुने समस्या र मर्मतका लागि आवश्यक यान्त्रिक क्रेनको अभावबारे जानकारी प्राप्त भएको थियो। सो क्रममा नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेश कार्यालयले आवश्यक उपकरण व्यवस्थापनका लागि मन्त्रीको ध्यानाकर्षण गराएको थियो।

अनुगमनपछि मन्त्री श्रेष्ठको पहलमा आवश्यक समन्वय अघि बढाइएको र त्यसकै परिणामस्वरूप नेपाल विद्युत प्राधिकरणको खरिपाटीस्थित ट्रान्सफर्मर वर्कशपमा रहेको यान्त्रिक क्रेन आवश्यक प्रक्रिया तथा सर्भिसिङ सम्पन्न भएपछि कर्णाली प्रदेशमा पठाउने निर्णय भएको हो।

हालसम्म विद्युत उपकरण मर्मतका लागि अन्य प्रदेशबाट क्रेन ल्याउनुपर्ने अवस्थाका कारण सेवा पुनःस्थापनामा ढिलाइ हुने गरेको थियो। अब प्रदेशमै आवश्यक उपकरण उपलब्ध भएपछि मर्मत कार्य तीव्र हुने, विद्युत अवरोधको अवधि घट्ने तथा सेवा प्रवाह थप प्रभावकारी बन्ने विश्वास गरिएको छ।

ऊर्जा मन्त्रालयले स्थानीय तहमा देखिएका व्यावहारिक समस्या समाधान गर्दै विद्युत सेवाको गुणस्तर सुधार र नागरिकलाई छिटो तथा सहज सेवा उपलब्ध गराउने प्रयासलाई निरन्तरता दिएको जनाएको छ।

Health Tips Ad Road Block