काठमाडौं । नेपाल आज एउटा नयाँ मोडमा उभिएको छ। लामो समयदेखि जनताले परिवर्तन, सुशासन र समृद्धिको सपना देख्दै आएका छन्। तर रोजगारीको अभाव, युवाको विदेश पलायन, उत्पादनमा कमी र जनताको दैनिक संघर्षले अझै पनि हामीलाई गम्भीर प्रश्न सोधिरहेको छ—अब देश बनाउने बाटो के हो ?
हाम्रो विश्वास छ, देश निर्माणको आधार श्रम, उत्पादन, इमानदारी र जनताको सहभागिता हो। श्रमलाई सम्मान गर्ने, आफ्नै माटोसँग जोडिने र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने सोचबाट नै नेपालको भविष्य उज्यालो बन्न सक्छ।
श्रम संस्कृति पार्टीले राजनीति केवल सत्ता प्राप्तिको माध्यम होइन, जनताको जीवन परिवर्तन गर्ने अभियानको रूपमा लिएको छ। किसानको खेत, मजदुरको पसिना, युवाको सपना र आम नागरिकको आशालाई केन्द्रमा राखेर अघि बढ्ने संकल्प नै हाम्रो मुख्य आधार हो।
आज आवश्यकता भाषणभन्दा बढी कामको छ। देशलाई आयातमा होइन, उत्पादनमा आधारित बनाउने, युवालाई अवसर दिने, गाउँलाई बलियो बनाउने र जनतालाई राज्यसँग जोड्ने राजनीति आवश्यक छ। यही सोचलाई अगाडि बढाउने बाटो हर्कवादको सिद्धान्तले देखाउँछ—जहाँ श्रम, माटो र जनताको शक्तिलाई प्राथमिकता दिइन्छ।
हामी विश्वास गर्छौँ, नेपाल परिवर्तन गर्न सकिन्छ। तर त्यसका लागि सोच परिवर्तन, काम गर्ने संस्कार र जिम्मेवार नेतृत्व आवश्यक छ। जनताको पीडा बुझ्ने, जनतासँगै हिँड्ने र जनताको पक्षमा उभिने राजनीतिक संस्कार नै अबको आवश्यकता हो।
श्रम संस्कृति पार्टी कुनै व्यक्ति वा समूहको मात्र अभियान होइन, श्रम गर्ने हरेक नेपालीको सम्मान र समृद्ध नेपालको सपना बोकेको अभियान हो। माटोसँग जोडिएको राजनीति, पसिनाको सम्मान र उत्पादनमुखी सोचबाट मात्रै देशले नयाँ दिशा लिन सक्छ।
अबको यात्रा समृद्ध नेपालको यात्र हो। श्रम गरौँ, उत्पादन गरौँ, देश बनाऔँ। जनताको साथ र विश्वासबाट नयाँ नेपालको निर्माण सम्भव छ। जय माटो, जय श्रम संस्कृति।




















