काठमाडाैं । मानसिक शान्तिको खोजीमा ध्यानको बढ्दो लोकप्रियता आजको तीव्र गतिमा बदलिरहेको संसारमा तनाव मानिसको जीवनको अभिन्न हिस्सा जस्तै बनेको छ। कार्यालयको कामको दबाब, आर्थिक चिन्ता, पारिवारिक जिम्मेवारी, सामाजिक प्रतिस्पर्धा तथा भविष्यप्रतिको अनिश्चितताले धेरै मानिसलाई मानसिकरूपमा थकित बनाइरहेको छ। विश्वभर मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दै जाँदा तनाव कम गर्ने उपायहरूको खोजी पनि तीव्र भएको छ। यिनै उपायमध्ये ध्यान अर्थात् मेडिटेशन अहिले सबैभन्दा चर्चित अभ्यासमध्ये एक बनेको छ। सामाजिक सञ्जालदेखि अस्पताल, विद्यालयदेखि कार्यालयसम्म ध्यान अभ्यासलाई प्रोत्साहन गर्ने क्रम बढिरहेको छ। तर एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ के ध्यान गरेर मात्रै मानिसको तनाव कम हुन्छ ? वा तनाव व्यवस्थापनका लागि अन्य पक्षहरू पनि उत्तिकै आवश्यक छन्?
मनोवैज्ञानिकहरुका अनुसार तनाव शरीर र मस्तिष्कले चुनौतीपूर्ण अवस्था वा दबाबप्रति दिने स्वाभाविक प्रतिक्रिया हो। जब मानिसले आफूलाई असुरक्षित, दबाबमा वा अनिश्चित परिस्थितिमा पाउँछ, शरीरले कोर्टिसोल र एड्रेनालिनजस्ता हर्मोन उत्पादन गर्न थाल्छ। सामान्य अवस्थामा यस्तो प्रतिक्रिया उपयोगी हुन सक्छ, किनकि यसले व्यक्तिलाई चुनौतीसँग जुध्न तयार बनाउँछ। तर लामो समयसम्म तनाव कायम रहँदा यसले मानसिक तथा शारीरिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। उच्च रक्तचाप, निद्राको समस्या, चिन्ता, डिप्रेसन, मुटुसम्बन्धी रोग तथा रोग प्रतिरोधात्मक क्षमतामा कमी जस्ता समस्या दीर्घकालीन तनावसँग जोडिएका छन्।
यस्तो अवस्थामा ध्यानलाई तनाव कम गर्ने प्रभावकारी उपायका रुपमा हेरिन्छ। ध्यानको मूल उद्देश्य व्यक्तिलाई वर्तमान क्षणमा केन्द्रित गराउनु हो। यसले मानिसलाई विगतका पश्चाताप र भविष्यका चिन्ताबाट केही समयका लागि मुक्त गराउँदै वर्तमान अनुभवलाई स्वीकार गर्न सिकाउँछ। नियमित ध्यान अभ्यासले मानिसको सोच्ने तरिका र भावनात्मक प्रतिक्रियामा सकारात्मक परिवर्तन ल्याउन सक्छ। विभिन्न अनुसन्धानहरुले ध्यानले मस्तिष्कको भावनात्मक नियन्त्रणसँग सम्बन्धित भागहरूमा सकारात्मक प्रभाव पार्ने देखाएका छन्। परिणामस्वरूप, ध्यान गर्ने व्यक्तिहरु तनावपूर्ण परिस्थितिमा पनि तुलनात्मक रूपमा शान्त र सन्तुलित रहन सक्ने सम्भावना बढी हुन्छ।
पछिल्ला वर्षहरूमा ध्यानको प्रभावकारितामाथि धेरै वैज्ञानिक अध्ययन भएका छन्। ती अध्ययनहरूले नियमित ध्यान अभ्यासले चिन्ता कम गर्न, भावनात्मक नियन्त्रण सुधार्न, निद्राको गुणस्तर बढाउन तथा तनावको स्तर घटाउन मद्दत गर्न सक्ने निष्कर्ष निकालेका छन्। केही अनुसन्धानहरूले छोटो समयको ध्यान अभ्यासले समेत तत्काल मानसिक शान्ति प्रदान गर्न सक्ने देखाएका छन्। त्यसैगरी कार्यस्थलमा गरिएको अध्ययनहरूले दिनको केही मिनेट ध्यान अभ्यास गर्ने कर्मचारीहरूमा तनाव, थकान र मानसिक दवाब कम भएको पाइएको छ। यही कारणले विश्वका धेरै कम्पनी, शैक्षिक संस्था
तथा स्वास्थ्य संगठनहरूले ध्यानलाई मानसिक स्वास्थ्य प्रवर्दधनको एउटा महत्वपूर्ण माध्यमका रुपमा अपनाउन थालेका छन्।
तर विशेषज्ञहरूका अनुसार ध्यान तनाव व्यवस्थापनको शक्तिशाली माध्यम भए पनि यो सम्पूर्ण समाधान भने होइन। यदि कुनै व्यक्ति बेरोजगारी, आर्थिक संकट, सम्बन्धमा समस्या, घरेलु हिंसा वा गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेको छ भने केवल ध्यान गरेर ती समस्याहरु समाप्त हुँदैनन्। ध्यानले समस्याप्रति व्यक्तिको मानसिक प्रतिक्रिया व्यवस्थापन गर्न सहयोग गर्न सक्छ, तर समस्याको मूल कारण हटाउन सक्दैन। उदाहरणका लागि, ऋणको भारी बोकेको व्यक्तिले ध्यान गर्दा केही समय मानसिक शान्ति अनुभव गर्न सक्छ, तर आर्थिक समस्या समाधानका लागि उसलाई व्यवहारिक कदम चाल्नैपर्छ।
तनाव व्यवस्थापनमा स्वस्थ जीवनशैलीको भूमिका पनि अत्यन्त महत्त्वपूर्ण मानिन्छ। पर्याप्त निद्रा, नियमित शारीरिक व्यायाम, सन्तुलित आहार तथा सकारात्मक सामाजिक सम्बन्धले मानसिक स्वास्थ्य सुधार्न महत्त्वपूर्ण योगदान पुन्याउँछन्। निद्राको कमीले मानिसलाई चिन्तित बनाउन सक्छ भने नियमित व्यायामले शरीरमा एन्डोर्फिन नामक रसायन उत्पादन गरी सकारात्मक अनुभूति दिलाउँछ। त्यस्तै, परिवार र साथीभाइसँगको राम्रो सम्बन्धले कठिन परिस्थितिमा भावनात्मक सहयोग प्रदान गर्छ। समय व्यवस्थापन र सन्तुलित जीवनशैलीले पनि तनाव कम गर्न प्रभावकारी भूमिका खेल्छ।
धेरै मानिसले ध्यानलाई मनोचिकित्सा वा मनोवैज्ञानिक उपचारको विकल्पका रुपमा बुझ्ने गर्छन्, तर विशेषज्ञहरू यससँग सहमत छैनन्। गम्भीर डिप्रेसन, आघातपछिको तनाव, आत्महत्याको सोच वा अन्य जटिल मानसिक समस्याबाट गुज्रिरहेका व्यक्तिहरुलाई व्यावसायिक उपचार आवश्यक पर्न सक्छ। यस्तो अवस्थामा ध्यान उपचारको सहायक साधन बन्न सक्छ, तर पूर्ण उपचारको विकल्प बन्न सक्दैन। प्रशिक्षित मनोवैज्ञानिक वा मनोचिकित्सकको सहयोगले मात्र यस्ता समस्याहरुको प्रभावकारी व्यवस्थापन सम्भव हुन्छ।
ध्यानका केही सीमितता र सम्भावित चुनौतीहरू पनि छन्। सबै व्यक्तिले ध्यानबाट समान लाभ प्राप्त गर्दैनन्। कतिपय व्यक्तिहरुले ध्यान गर्दा पुराना दुःखद सम्झना वा भावनात्मक असहजता अनुभव गर्न सक्छन्। विशेष गरी मानसिक आघात भोगेका व्यक्तिहरुका लागि लामो वा गहिरो ध्यान अभ्यास कहिलेकाहीं चुनौतीपूर्ण हुन सक्छ। त्यसैले ध्यानलाई पूर्ण रूपमा जोखिमरहित अभ्यास मान्न सकिँदैन। आवश्यक परे प्रशिक्षित प्रशिक्षकको मार्गदर्शनमा ध्यान अभ्यास गर्नु उपयुक्त मानिन्छ।
ध्यानको प्रभाव व्यक्ति अनुसार फरक-फरक हुन सक्छ। व्यक्तिको मानसिक अवस्था, अभ्यासको नियमितता, ध्यानको प्रकार, सामाजिक वातावरण तथा जीवनशैलीले यसको प्रभाव निर्धारण गर्छ। नियमितरूपमा अभ्यास गर्ने व्यक्तिहरूले सामान्यतया बढी सकारात्मक परिणाम अनुभव गर्ने ध्यान (Meditation) विभिन्न गुरुहरूको अभ्यासदेखि आधुनिक विज्ञानसम्म यसको बढ्दो महत्व आजको तनावपूर्ण र दौडधूपले भरिएको जीवनमा ध्यान (Meditation) फेरि एकपटक मानिसहरूको ध्यानको केन्द्रमा आएको छ। पहिले यसलाई मुख्यतः आध्यात्मिक अभ्यासका रूपमा लिइन्थ्यो, तर अहिले यसले मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन र जीवनशैली सुधार्ने प्रभावकारी विधिका रूपमा विश्वभर स्थान बनाउँदै गएको छ।
विभिन्न आध्यात्मिक गुरुहरुले ध्यानलाई आफ्नै तरिकाले प्रस्तुत गरेका छन्। ओशो (Osho) ले ध्यानलाई कुनै कठोर नियम नभई स्वतन्त्र अनुभवका रूपमा व्याख्या गर्दै “गतिशील ध्यान” (Dynamic Meditation) लोकप्रिय बनाएका थिए, जहाँ श्वास, नृत्य र मौनताको माध्यमबाट मानिसले आफूभित्र प्रवेश गर्ने अभ्यास गरिन्छ। अर्कोतर्फ, सद्गुरु (Sadhguru) ले “Isha Meditation” र “Inner Engineering” कार्यक्रममार्फत ध्यानलाई दैनिक जीवनसँग जोडेर सरल तर गहिरो अभ्यासका रुपमा प्रस्तुत गरेका छन्, जसले मानिसलाई मानसिक स्पष्टता र स्थिरता दिन सहयोग गर्ने बताइन्छ।
त्यस्तै, दलाई लामा (Dalai Lama) ले बौद्ध ध्यान परम्परालाई करुणा र दयासँग जोड्दै विश्वभर शान्ति र मानसिक सन्तुलनको सन्देश फैलाइरहेका छन् । उनका अनुसार ध्यान केवल व्यक्तिगत शान्तिको साधन मात्र नभई समाजमा सहानुभूति र समझदारी बढाउने अभ्यास पनि हो।
नेपाल र भारतसहित विश्वका विभिन्न भागमा अहिले विपश्यना (Vipassana) ध्यान शिविरहरु पनि निकै लोकप्रिय बनेका छन्। यी शिविरहरुमा सहभागीहरुले १० दिनसम्म मौन बस्दै आफ्नो श्वास र अनुभूतिमा ध्यान केन्द्रित गर्छन्, जसलाई धेरैले ‘जीवन परिवर्तन गर्ने अनुभव” भनेर वर्णन गर्ने गरेका छन्। त्यस्तै, योग र प्राणायामसँग जोडिएका ध्यान अभ्यासहरु पनि शहरका व्यस्त मानिसहरुबीच तीव्ररूपमा फैलिंदैछन्।
अर्कोतर्फ आधुनिक वैज्ञानिक अनुसन्धानहरूले पनि ध्यानका फाइदाहरूलाई समर्थन गर्दै आएका छन्। अध्ययनहरूले नियमित ध्यानले तनाव हर्मोन कम गर्ने, निद्रा सुधार्ने, ध्यान केन्द्रित गर्ने क्षमता बढाउने र मस्तिष्कको भावनात्मक नियन्त्रण प्रणालीलाई बलियो बनाउने देखाएका छन्। यस कारण ध्यानलाई अहिले चिकित्सकीय उपचारसँग सहायक विधिका रुपमा समेत प्रयोग गर्न थालिएको छ।
यद्यपि विशेषज्ञहरूका अनुसार ध्यानको प्रभाव यसको निरन्तरता, सही अभ्यास र व्यक्तिको मानसिक अवस्थामाथि निर्भर हुन्छ। विभिन्न गुरुहरुको मार्ग फरक भए पनि मूल उद्देश्य एउटै देखिन्छ मानिसलाई बाहिरी तनावबाट मुक्त गराउँदै भित्री शान्ति र सन्तुलित जीवनतर्फ डोर्याउनु।
समग्रमा भन्नुपर्दा, ध्यान आज केवल आध्यात्मिक अभ्यास मात्र होइन, यो आधुनिक जीवनको आवश्यकता बन्दै गएको छ, जसले मन, मस्तिष्क र जीवनशैली तीनैलाई सकारात्मक रूपमा परिवर्तन गर्ने सम्भावना बोकेको छ।
ओशो र एस. एन. गोयनकाः ध्यानका दुई धाराहरू, चेतनाको एउटै खोज
ध्यानको संसारमा केही यस्ता व्यक्तित्व छन् जसले केवल एउटा अभ्यास मात्र सिकाएनन्, मानिसले आफूलाई हेर्ने तरिका नै परिवर्तन गरिदिए। बीसौँ शताब्दीको उत्तरार्धमा यदि ध्यान र आध्यात्मिकताको क्षेत्रमा सबैभन्दा धेरै चर्चा गरिएका दुई नाम खोज्ने हो भने ओशो र एस. एन. गोयनका निश्चितरूपमा अगाडि आउँछन्। लाखौँ मानिस उनीहरुबाट प्रभावित भए, हजारौंले उनीहरूको निर्देशनमा ध्यान अभ्यास गरे र आज पनि संसारभरका साधकहरू उनीहरूको शिक्षाबाट प्रेरणा लिइरहेका छन्। रोचक कुरा के छ भने दुवैले मानिसलाई चेतना, शान्ति र आत्मजानकी दिशामा डोर्याउन खोजे, तर उनीहरूले रोजेको बाटो एकदमै फरक थियो। बाहिरबाट हेर्दा यी दुई धाराहरू एकअर्काको विपरीत जस्ता देखिन्छन्। एउटा नृत्य, संगीत, हाँसो, आँसु र जीवनको उत्सवबाट ध्यानतर्फ लैजान खोज्छ भने अर्को मौनता, अनुशासन, धैर्य र आत्म-अवलोकनमार्फत मुक्त्ति खोज्छ। तर गहिराइमा पुगेर हेर्दा दुवैले खोजेको सत्य अन्ततः एउटै देखिन्छ मानिसलाई आफ्नै भित्री संसारसँग पुनः जोड्नु।
ओशोलाई बुझ्नका लागि सर्वप्रथम उनले आधुनिक मानिसलाई कसरी हेर्थे भन्ने बुझ्न आवश्यक छ। उनको विचारमा आधुनिक मानिसको सबैभन्दा ठूलो समस्या तनाव मात्र होइन, दमन हो। हजारौं वर्षदेखि समाज, धर्म, परिवार र संस्कृतिले मानिसलाई विभिन्न नियमभित्र बाँध्दै आएको छ। बच्चा जन्मँदा स्वतन्त्र हुन्छ, उसले हाँस्न मन लाग्यो भने हाँस्छ, रुन मन लाग्यो भने रुन्छ, रिस उठ्यो भने देखाउँछ। तर विस्तारै उसलाई सिकाइन्छ यसरी नहाँस, यसरी नरोऊ, रिस देखाउनु हुँदैन, यौन इच्छाबारे कुरा गर्नु हुँदैन, समाजले स्वीकार्ने ढंगले मात्र बाँच्नुपर्छ। परिणामस्वरूप मानिस बाहिर सभ्य देखिए पनि भित्र असंख्य दबिएका भावना, अपूरा चाहना, पीडा, डर र असन्तोष बोकेर हिँड्न थाल्छ। ओशोका अनुसार यस्तो मानिसलाई सिधै आँखा बन्द गरेर शान्त बस्न भनियो भने त्यो सम्भव हुँदैन, किनकि उसको भित्रको कोलाहल अत्यन्त ठूलो हुन्छ। त्यसैले उनले ध्यानलाई एउटा जीवित प्रक्रिया बनाए, जसमा मानिसले पहिले आफ्नो दबिएको ऊर्जा बाहिर निकाल्छ र त्यसपछि मात्र मौनतामा प्रवेश गर्छ।
यही कारणले ओशोका ध्यान विधिहरू परम्परागत ध्यानभन्दा बिल्कुल फरक देखिन्छन्। डायनामिक मेडिटेशनमा मानिस तीव्र श्वास लिन्छ, कराउँछ, चिच्याउँछ, उफ्रिन्छ, रून्छ, हाँस्छ र अन्त्यमा पूर्ण मौनतामा उभिन्छ। बाहिरबाट हेर्दा यो ध्यानभन्दा बढी कुनै मनोवैज्ञानिक उपचारजस्तो देखिन सक्छ। तर ओशोको तर्क थियो कि आधुनिक मानिसलाई यही आवश्यक छ। उनले एकपटक भनेका थिए कि यदि घर धुवाँले भरिएको छ भने पहिले झ्याल खोल्नुपर्छ, त्यसपछि मात्र शान्त हावा भित्र पस्छ। उनका सक्रिय ध्यानहरु यही झ्याल खोल्ने प्रयासमा थिए। उनले ध्यानलाई जीवनबाट अलग्गै राखेनन्। उनका लागि प्रेम, संगीत, नृत्य, सौन्दर्य, सिर्जनशीलता र उत्सव सबै ध्यानका सम्भावित ढोका थिए। उनले संसार त्याग्न सिकाएनन्, बरु संसारभित्रै सजग भएर बाँच्न सिकाए।
गोयनकाको दृष्टिकोण भने एकदमै फरक थियो। उनले मानिसको मूल समस्या दमनभन्दा बढी अज्ञानता देखे। उनको विचारमा दुःखको कारण बाहिरी संसार होइन, त्यसप्रति हाम्रो प्रतिक्रिया हो। हामी निरन्तर सुखद अनुभवलाई समात्न खोजिरहेका हुन्छाैं र दुःखद अनुभवलाई हटाउन खोजिरहेका हुन्छौं। यही चाहना र घृणाको चक्रले मनलाई अशान्त बनाउँछ। बुद्धले दुई हजार पाँच सय वर्षअघि यही सत्य पत्ता लगाएका थिए र विपश्यना ध्यान त्यसैको अभ्यास हो भन्ने गौयनकाको विश्वास थियो। उनले विपश्यनालाई कुनै धर्म, सम्प्रदाय वा दर्शनको रूपमा प्रस्तुत गरेनन्। उनका अनुसार यो मनको विज्ञान हो, जसलाई कुनै पनि व्यक्तिले अभ्यास गर्न सक्छ।
विपश्यना शिविरमा जाने जो कोहीलाई सुरुका दिनहरू अत्यन्त साधारण लाग्न सक्छन्। कुनै मन्त्र छैन, कुनै कल्पना छैन, कुनै पूजा छैन। केवल आफ्नो श्वासलाई हेर्नु। पछि शरीरमा भइरहेका संवेदनाहरूलाई अवलोकन गर्नु। तर यही साधारण देखिने अभ्यासमा असाधारण गहिराइ लुकेको छ। जब साधकले शरीरमा उत्पन्न हुने प्रत्येक संवेदनालाई प्रतिक्रिया नगरी हेर्न सिक्छ, तब उसले आफ्नो मनको गहिरो संरचना बुझ्न थाल्छ। उसले देख्छ कि प्रत्येक भावना शरीरमा कुनै न कुनै संवेदनासँग जोडिएको छ। रिस आउँदा शरीर तातिन्छ, डर लाग्दा कम्पन हुन्छ, चिन्ता हुँदा छाती भारी हुन्छ। सामान्यतया हामी भावनाको कथामा हराउँछौं, तर विपश्यनाले हामीलाई कथाभन्दा तल, संवेदनाको तहमा लैजान्छ। त्यहाँ पुगेर मानिसले अनुभव गर्छ कि सबै कुरा अनित्य छा संवेदना आउँछ, जान्छ। भावना आउँछ, जान्छ। विचार आउँछ, जान्छ। यही अनुभवबाट बिस्तारै आसक्ति र द्वेष कमजोर हुन थाल्छन्।
यदि मनोवैज्ञानिक दृष्टिकोणबाट हेर्ने हो भने ओशो र गोयनका मानव मनका दुई फरक तहमा काम गरिरहेका देखिन्छन्। ओशोले दबिएका भावनालाई सतहमा ल्याउने प्रयास गर्छन्। उनको ध्यानले मानिसलाई आफूले वषाैंदेखि लुकाएका पीडा, रिस, आँसु र डर सामना गर्न प्रेरित गर्छ। आधुनिक मनोचिकित्सामा प्रयोग हुने क्याथार्सिस अर्थात् भावनात्मक विमोचनसँग यसको केही समानता देख्न सकिन्छ। गोयनकाले भने भावनालाई अभिव्यक्त गर्नुभन्दा तिनको प्रकृति बुझ्न सिकाउँछन्। उनी रिसको कथा सुन्न चाहँदैनन्, उनी रिसको अनुभूति हेर्न सिकाउँछन्। उनी डर हटाउन खोज्दैनन्, डरको उत्पत्ति र अन्त्य अवलोकन गर्न सिकाउँछन्। एउटा दृष्टिकोण अभिव्यक्तिमा आधारित छ भने अर्को अवलोकनमा।
यीनको जीवनदर्शनमा पनि गहिरो भिन्नता भेटिन्छ। ओशोले स्वतन्त्रतालाई सर्वोच्च मूल्य मान्थे। उनका अनुसार आध्यात्मिकता कुनै जेल होइन। यदि धर्मले मानिसको आनन्द, सिर्जनशीलता र जीवन्तता नष्ट गर्छ भने त्यो धर्म होइन, मानसिक दासता हो। त्यसैले उनले परम्परागत धार्मिक मान्यतामाथि बारम्बार प्रश्न उठाए। उनी विवादास्पद पनि बने किनकि उनले समाजले स्वीकारेका धेरै मूल्यहरुलाई चुनौती दिए। उनका आलोचकहरुले उनलाई अति विद्रोही भने तर समर्थकहरूले उनलाई आधुनिक युगको सबैभन्दा साहसी आध्यात्मिक आवाजका रुपमा हेरे। अर्कोतर्फ गोयनका अनुशासनका पक्षधर थिए। दस दिनको विपश्यना शिविरमा मौनता, समय तालिका र नियमहरुको कडाइले धेरैलाई अचम्ममा पार्छ। तर गोयनकाको विश्वास थियो कि अस्थिर मनलाई गहिराइसम्म बुझ्न अनुशासन आवश्यक छ। उनका लागि अनुशासन स्वतन्त्रताको विरोधी होइन, स्वतन्त्रतासम्म पुग्ने पुल हो।
ध्यानको अनुभवलाई लिएर दुवै गुरुका भाषाहरु पनि फरक छन्। ओशाे कविजस्तै बोल्छन्। उनका प्रवचनमा कथा, हास्य, प्रेम, दर्शन र रहस्य मिसिएको हुन्छ। उनी मानिसलाई प्रेरित गर्छन्र, झक्झक्याउँछन्, कहिलेकाहीं चकित बनाउँछन्। गोयनका भने शिक्षकजस्तै बोल्छन्। उनको भाषा सरल, स्पष्ट र व्यवस्थित छ। उनी अनुभवलाई रोमाञ्चक बनाएर प्रस्तुत गर्दैनन्, बरु विधिलाई सहीरूपमा अभ्यास गर्न जोड दिन्छन्। ओशोले मानिसलाई नाच्दै ध्यानमा प्रवेश गराउँछन् भने गोयनकाले मानिसलाई बस्न, हेर्न र बुझ्न सिकाउँछन्।
आजको समयमा यी दुईमध्ये कुन बढी उपयोगी छ भन्ने प्रश्न धेरैले सोध्छन्। तर यसको उत्तर कुनै सार्वभौमिक सूत्रमा दिन सकिँदैन। यदि कुनै व्यक्ति अत्याधिक तनावग्रस्त छ. भावनात्मक रूपमा दबिएको छ र आफूलाई खुलारूपमा व्यक्त गर्न सक्दैन भने ओशोका सक्रिय ध्यानहरु उसलाई सुरुवाती चरणमा बढी उपयोगी लाग्न सक्छन्। उसले शरीर चलाउँदा, चिच्याउँदा, नाच्दा र भावनाहरु बाहिर निकाल्दा ठूलो राहत अनुभव गर्न सक्छ। तर यदि कुनै व्यक्ति धैर्यपूर्वक आफ्नै मनको गहिराइमा जान तयार छ, मौनता सहन सक्छ र नियमित अभ्यास गर्न इच्छुक छ भने विपश्यना अत्यन्त शक्तिशाली साधना बन्न सक्छ। वास्तवमा धेरै साधकहरूले दुवै विधिबाट लाभ लिएका छन्। कतिपयले ओशोबाट भावनात्मक खुलापन पाए र पछि विपश्यनाबाट स्थिरता र गहिराड़। कतिपयले विपश्यनाबाट आत्म अवलोकन सिके र ओशोबाट जीवनलाई उत्सवका रूपमा हेर्न थाले।
अन्ततः सबैभन्दा महत्वपूर्ण कुरा गुरु होइन, विधि होइन, दर्शन पनि होइन। महत्वपूर्ण कुरा अनुभव हो। ओशोले बारम्बार भनेका छन् कि उधारो सत्यले काम गर्दैन। गोयनकाले पनि निरन्तर जोड दिएका छन् कि केवल सुनेर वा पढेर मुक्ति सम्भव छैन, अभ्यास गर्नुपर्छ। यही बिन्दुमा आएर यी दुई गुरु आश्चर्यजनक रूपमा एकअर्कासँग भेटिन्छन्। दुवैले अन्धविश्वासलाई अस्वीकार गर्छन्। दुवैले प्रत्यक्ष अनुभवलाई प्राथमिकता दिन्छन्। दुवैले मानिसलाई आफ्नो भित्री संसारको जिम्मेवारी लिन सिकाउँछन्। दुवैले अन्ततः चेतनाको जागरणलाई नै जीवनको केन्द्र मान्छन्।
बाहिरबाट हेर्दा ओशो र गोयनका दुई फरक दिशामा हिँडिरहेका यात्रुजस्ता देखिन्छन्। एउटा संगीत, नृत्य र उत्सवको बाटोबाट अघि बढ्छ, अर्को मौनता, अनुशासन र अवलोकनको बाटोबाट। तर जब यात्रा गहिरिदै जान्छ, दुवै बाटा एउटै रहस्यको वरिपरि घुमिरहेको देखिन्छ ।मानिस आफूलाई जति बढी सचेतरुपमा देख्न थाल्छ, त्यति नै उसले दुःख, भय र भ्रमबाट स्वतन्त्रता अनुभव गर्न थाल्छ। सायद यही कारणले आज पनि, दशकौंपछि ओशो र गोयनका दुवै जीवित छन्-आफ्ना शरीरमा होइन, तर लाखौं मानिसको ध्यान यात्रामा।
अन्त्यमा, सबै शन्तहरुका विचार पढिसके पछि मेरो विचारमा ध्यान भनेको शान्ति होइन, त्यही शान्तिहरुलाई शान्त हुन छेक्ने अशान्तीहरुलाई देख्ने तिरका र वर्तमानलाई अनुभव गर्ने तरिका नै ध्यान हो भन्छु म ।





















