जनकपुर । मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराईसँग भेटवार्ता अटोमोटिभ क्षेत्रको नीतिगत संवाद गरेको छ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले मधेश प्रदेशका नयाँ अर्थमन्त्री युवराज भट्टराईसँग भेटवार्ता गरेको हो । व्यापारिक समुदायसँग संवाद गर्ने मन्त्री भट्टराईकै पहलमा यो बैठक आयोजना भएको थियो ।
अध्यक्ष उप्रेतीको नेतृत्वमा नाडा प्रतिनिधिमण्डलले अटोमोटिभ क्षेत्रलाई प्रादेशिक संरचनाको अभिन्न अंगको रूपमा प्रस्तुत गरेको थियो । यो क्षेत्रले कुल सरकारी राजस्वमा २०% भन्दा बढी योगदान दिएको र देशभर १ लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी उपलब्ध गराएको प्रस्तुत गरेको थियो । छलफलमा नाडाले तीन प्राथमिकता अगाडि राख्यो दर्ता शुल्क र मूल्य अभिवृद्धि कर संरचनामा बहु–वर्षीय स्पष्टता, माध्यमिक शहरमा डीलरशिपलाई विद्युतीय सवारी चार्जिङ केन्द्रको रूपमा विकास गर्न संयुक्त कार्यदल गठन र विद्युतीय सवारी संक्रमणका लागि सेवा प्राविधिक पुनः तालिममा प्रादेशिक समर्थन ।
छलफलमा “हामी कर छुट माग गरिरहेका छैनौँ-स्पष्टता माग गर्दैछौँ,” अध्यक्ष उप्रेतीले भने, “दुई वर्षको लागत संरचना जानेको डीलरले ग्रामीण सेवा केन्द्रमा लगानी गर्न र प्राविधिक नियुक्त गर्न सक्छ । तर अर्को महिनाको कर दायित्वमा अन्योल भएको डीलरले वृद्धिमा प्रतिबद्धता गर्न सक्दैन ।”
सोही सिलसिलामा नाडाले अर्थ मन्त्रालयसँग नियमित संवादको माध्यम स्थापना गर्न प्रस्ताव राखेको थियो ।
छलफलमा अर्थमन्त्री भट्टराईले मधेश प्रदेशमा लगानीको वातावरण सुदृढ गर्न र निजी क्षेत्रको लगानी बढाउन नाडा प्रतिनिधिमण्डलसँग आग्रह गर्दै प्रदेशको आर्थिक विकासमा निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए ।
छलफलमा प्रदेशका श्रम तथा यातायात मन्त्री शारदा देवी थापा तथा राजश्व अधिकृत जय कुमार राउत समेतको उपस्थिति रहेको थियो । त्यसैगरी, नाडाको तर्फबाट निवर्तमान अध्यक्ष करण चौधरी, नाडाका विसिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठ तथा महासचिव मिलनबाबु मल्ल समेतको उपस्थिति रहेको थियो ।




















