धादिङ । धादिङको गजुरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम र बजेट तर्जुमाको लागि राय, सल्लाह तथा सुझाव संकलन गर्ने भएको छ । भोलि २१ गते बिहीबारदेखि जेठ २६ गते मंगलबारसम्म पालिकाले विभिन्न स्थानमा पुगेर सुझाव संकलन गर्ने एक सूचनामार्फत जानकारी दिएको छ ।
पालिकाले आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमा प्रयोजनार्थ गाउँपालिका भित्रका प्रत्येक टोल बस्तीबाट राय, सल्लाह तथा सुझाव संकलन कार्यक्रम गर्न लागेको जनाएको छ ।
सार्वजनिक सूचना अनुसार भोलि जेठ २१ गते वडा नम्बर ८ वडा कार्यालय, कटुन्जेमा बिहान ८ बजे र थुम्की डाँडामा बिहान ११ बजे सुझाव संकलन गरिनेछ । त्यसैगरी भोलि नै वडा नम्बर ७ को पेटारेमा दिउँसो १ बजे र वडा कार्यालयमा ३ बजे सुझाव संकलन कार्यक्रम राखिएको छ ।
यस्तै शुक्रबार जेठ २२ गते वडा नम्बर ६ का जनतासँग राय सल्लाह सुझाव लिइनेछ । त्यसदिन स्यामैडाँडामा बिहान ९ बजे र वडा कार्यालयमा बिहान ११ बजे सुझाव संकलन गर्ने कार्यक्रम रहेको छ ।
शुक्रबार जेठ २२ गते नै वडा नम्बर ५ को भिमसेनस्थान पिंडामा दिउँसो १ बजे र वडा कार्यालय, घाटवेशीमा दिउँसो ३ बजे
सुझाव संकलन गर्ने कार्यक्रम पालिकाको छ ।
यता जेठ २३ शनिबार वडा नम्बर ४ को वडा कार्यालयमा बिहान ११ बजे कार्यक्रम गरी जनताबाट बजेट, नीति तथा कार्यक्रमबारे राय, सुझाव संकलन गरिनेछ । जेठ २३ गते शनिबार नै ३ नम्बर वडा कार्यालयमा दिउँसो ३ बजे कार्यक्रम गरी सुझाव संकलन गर्ने कार्यक्रम रहेको पालिकाले जनाएको छ ।
बाँकी रहेको वडा नम्बर १ र २ को सुझाव संकलन जेठ २६ गते मंगलबार हुने पालिकाको सूचनामा उल्लेख छ । जेठ २६ गते वडा नम्बर २ को डुँडेठाँटी स्वास्थ्य चौकीमा बिहान ९ बजे कार्यक्रम गरी सुझाव संकलन गरिनेछ भने वडा कार्यालयमा बिहान ११ बजे कार्यक्रम गरी सुझाव लिइनेछ । २६ गते मंगलबार नै वडा नम्बर १ को पनि सुझाव संकलन तालिका रहेको छ । यसअन्तर्गत २६ गते दिउँसो १ बजे वडा कार्यालयमा जनतासँग सुझाव संकलन गरिने र दिउँसो ३ बजे आदामारा चौतारामा सुझाव संकलन गर्ने कार्यक्रम रहेको पालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले जानकारी दिएका छन् ।
बजेट, नीति तथा कार्यक्रममा सम्बन्धित वडा, टोल, बस्तीका जनप्रतिनिधि, राजनैतिक दल, विभिन्न संघ संस्थाका सञ्चालक तथा प्रतिनिधि, उपभोक्ता समितिका पदाधिकारी बुद्धिजिवी वर्ग एवं जनतालाई सहभागी भई आफूलाई लागेको सुझाव दिन पालिकाले अनुरोध गरेको छ ।





















