skip this News Page Tips Ad Road Block

कक्षा ११ र १२ को छात्रवृत्तिः ८३ वटा केन्द्रमा २६ हजार ६८० जना विद्यार्थी छात्रवृत्ति छनोट परीक्षामा सहभागी हुँदै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ का लागि शिफारिस गर्ने छात्रवृत्तिका लागि २६ हजार ६८० जना परीक्षार्थी सहभागी हुन योग्य भएका छन् । आवेदक २६ हजार ८८८ जना विद्यार्थीमध्ये २०८ जनाको फाराम अस्वीकृत भएको छ ।

शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार विद्यार्थीहरुले जुन प्रणालीबाट आवेदन दिएका थिए । त्यही प्रणालीबाट प्रवेश पत्र प्राप्त गर्न सक्नेछन् । प्रवेश पत्रमा परीक्षा केन्द्र र परीक्षार्थीले पालना गर्नु पर्ने दायित्व उल्लेख छन् । खड्का भन्छन्, ‘प्रवेश पत्र रंगीन प्रिन्ट भएको हुनु पर्नेछ ।’ रंगीन प्रिन्ट गर्नु पर्नाको कारण बुझाउँदै उनी भन्छन्, ‘छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका नाममा अरुले परीक्षा दिन नपाउन भन्नका लागि प्रवेश पत्र रंगीन प्रिन्ट गर्ने व्यवस्था कार्यान्वयन गरेका हौँ ।’

महानगरपालिकाले २०८० सालदेखि नीतिगत निर्णय गरेर महानगरपालिका क्षेत्रभित्र भएका ११ र १२ कक्षा सञ्चालन हुने विद्यालयमा छात्रवृत्ति प्रदान गर्न परीक्षा सञ्चालन थालेको हो ।

यस वर्ष संस्थागत शिक्षण संस्थाहरूमा कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्नका लागि मिति जेठ १७ गते छात्रवृत्ति छनोट परीक्षा सञ्चालन हुनेछ ।

परीक्षार्थीहरूले महानगरपालिकाको आधिकारिक पोर्टल इन्ट्रान्स डट काठमाडौँ डट जीओभी डट एनपी मा लग इन गरेर प्रवेश पत्र डाउनलोड गर्न सक्नेछन् । साइटमा लग इन गर्न एसईईको सिम्बोल नम्बरलाई युजरनेम लेखिएको ठाउँमा प्रविष्ट गराउनुपर्छ । यसपछि जन्म मिति र इमेल वा म्यासेजमार्फत प्राप्त भएको पासवर्ड राखेपछि पेज खुल्छ ।

प्रवेशपत्र अनिवार्य रूपमा रङ्गिन प्रिन्ट गर्नुपर्छ । ब्ल्याक एण्ड हाइट प्रिन्ट गरिएको वा स्पष्ट फोटो र विवरण नभएको प्रवेश पत्रलाई मान्यता दिइने छैन । परीक्षा केन्द्रमा आउँदा प्रवेशपत्रका साथै फोटोसहितको परिचय खुल्ने आधिकारिक कागजात (एसईई प्रवेशपत्र, विद्यालयको आइडी कार्ड वा नागरिकताको प्रमाणपत्र) अनिवार्य रूपमा साथमा लिई उपस्थित हुनुपर्नेछ । प्रवेशपत्रको पछाडिपट्टि उल्लेख गरिएका परीक्षा सम्वन्धी नियम तथा आचारसंहिताहरू परीक्षार्थीहरूले अनिवार्य रूपमा पालना गर्नुपर्छ । नियमको उल्लंघन भएमा परीक्षा रद्द गरिनुका साथै प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।

परीक्षा सञ्चालनका लागि शिक्षा विभागले केन्द्राध्यक्षहरुका लागि अभिमुखीकरण सम्पन्न गरिसकेको छ । स्वच्छ, निष्पक्ष परीक्षा सञ्चालन होस् । परीक्षालाई विद्यार्थीहरुले जटिल प्रक्रियाका रुपमा महसुस नगरुन् भनेर विद्यार्थीलाई त्रास उत्पन्न नगराउन र जानेको कुरामा निर्वाध उत्तर दिनका लागि सहजीकरण गर्न निर्देशन दिइएको छ । विद्यार्थीहरुलाई ओएमआर विधिका विषयमा स्पष्ट जानकारी प्रदान गर्न आग्रह गरिएको शिक्षा अधिकारी नमराज ढकालले जानकारी दिए ।

कक्षा १० सम्मको छात्रवृत्ति प्रदान गर्न वडास्तरीय समितिले शिफारिस गर्छ । कक्षा ११ र १२ को छात्रवृत्ति कोटाका लागि भने शिक्षा विभागले परीक्षा सञ्चालन गरेर नतिजाका आधारमा शिफारिस गर्छ ।

परीक्षापछि योग्यता क्रमको सूची प्रकाशन हुन्छ । यसपछि म्याचिङ् लिष्टबाट नाम शिफारिस हुन्छ । नाम शिफारिस गरिएका विद्यार्थीहरुले कक्षा ११/१२ मा कुनै पनि प्रकारको शैक्षिक शुल्क तिर्नु पर्दैन ।

Health Tips Ad Road Block