skip this News Page Tips Ad Road Block

महिला फुटबलका तीन खेलाडी एसटीसी ग्रुपको ब्रान्ड एम्बास्डर नियुक्त

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालको अटोमोटिभ तथा ऊर्जा क्षेत्रमा सक्रिय एसटीसीअन्तर्गतका स्वदेशी ब्याट्री ब्रान्ड एसटीसी राइड र एसटीसी इनर्जीले नेपाली महिला राष्ट्रिय फुटबल टोलीका तीन खेलाडीलाई आधिकारिक ब्रान्ड एम्बास्डर नियुक्त गरेको छ। कम्पनीले खेलकुद क्षेत्रसँगको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यसहित राष्ट्रिय टोलीका चर्चित खेलाडीहरू रेखा पौडेल, मनमाया दमाई र दीपा शाहीसँग औपचारिक सम्झौता गरेको हो।

बुधबार (आज) अखिल नेपाल फुटबल संघ (एन्फा) परिसर, ललितपुरमा आयोजित विशेष हस्ताक्षर समारोहबीच उक्त सम्झौता सम्पन्न गरिएको हो। सम्झौताअनुसार राष्ट्रिय टोलीकी फरवार्ड खेलाडी रेखा पौडेल तथा युवा प्रतिभा दीपा शाहीले एसटीसी राइडको प्रतिनिधित्व गर्नेछन् भने अनुभवी खेलाडी मनमाया दमाईलाई एसटीसी इनर्जीको ब्रान्ड एम्बास्डरको रूपमा अनुबन्ध गरिएको कम्पनीले जनाएको छ।

नेपाली महिला राष्ट्रिय फुटबल टोलीका यी खेलाडीहरूले घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली महिला फुटबलको उन्नयनमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्। अनुभव, प्रतिभा र समर्पणका कारण उनीहरूले नेपाली फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन उल्लेखनीय भूमिका खेलेका छन्।

कम्पनीका अनुसार एसटीसी राइड र एसटीसी इनर्जी पूर्ण रूपमा ‘मेड इन नेपाल’ ब्याट्री ब्रान्ड हुन्। नेपाली सडक, मौसम तथा उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर स्वदेशमै उत्पादन गरिएका यी ब्याट्रीहरूले उच्च कार्यक्षमता, लामो आयु र भरपर्दो प्रदर्शन प्रदान गर्दै आएका छन्। विशेषगरी दुई पाङ्ग्रे, चार पाङ्ग्रे तथा ऊर्जा र पावर ब्याकअप क्षेत्रमा कम्पनीले आफ्नो प्रभाव र लोकप्रियता विस्तार गर्दै लगेको जनाएको छ।

कार्यक्रममा बोल्दै एसटीसी ग्रुपका प्रबन्ध निर्देशक तथा अटोमोवाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्र उप्रेतीले नेपाली खेलाडीहरूसँग सहकार्य गर्न पाउँदा गर्व महसुस भएको बताए । उनले खेलकुद क्षेत्र र युवापुस्तालाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रिय खेलाडीहरूसँग सहकार्य गरिएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि नेपाली प्रतिभालाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरे । एन्फाका महासचिव किरण राई, एन्फाका टेक्निकल प्रवन्धक तथा पूर्व क्याप्टेन हरि खड्काले यो सुरुवातको प्रशंसा गरे ।

उक्त समारोहमा एन्फाका पदाधिकारी, एसटीसी ग्रुपका प्रतिनिधि, खेलकुदकर्मी, व्यवसायी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Health Tips Ad Road Block