काठमाडौं । पाँच पटकको विजेता ब्राजिल विश्वकपबाट बाहिरिएको छ । एर्लिङ हालान्डको उत्कृष्ट प्रदर्शनमा नर्वेले पाँच पटकको विश्वविजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै पहिलो पटक फिफा विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो । हालान्डले खेलको ७९ औं मिनेटमा आन्द्रेयास स्केल्डेरुपको सटीक क्रसलाई हेडमार्फत गोलमा परिणत गर्दै नर्वेलाई १–० को अग्रता दिलाएका थिए । त्यसपछि ९० औं मिनेटमा अर्काे गोल थपे । यी दुई गोलसँगै हालान्डले यस विश्वकपमा आफ्नो गोल संख्या सात पुर्याएर गोल्डेन बुटको दाबेदार बनेका छन् । उनी सर्वाधिक गोलकर्ता अर्जेन्टिनाका लिओनल मेसी र फ्रान्सका केलियन एमबाप्पेसँगको बराबरीमा पुगेका हुन् ।
यता ब्राजिलले इन्जुरी समयको अन्तिमतिर नेयमारको पेनाल्टी गोलमार्फत अन्तर घटाए पनि टोलीलाई हारबाट जोगाउन सकेन । पाँच पटकको विश्वविजेता टोली उपाधिको मुख्य दाबेदारका रूपमा प्रतियोगितामा प्रवेश गरेपनि क्वाटरफाइनल पुग्न नसकेको हो ।
नर्वेले भने ऐतिहासिक सफलता हासिल गर्दै पहिलो पटक विश्वकपको अन्तिम आठमा स्थान बनाएको छ ।
तस्विरः फिफा वर्ल्डकपबाट





















