Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझावः एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवलाई भेट गरी समग्र उद्योग–व्यवसाय क्षेत्र सुधारका लागि विस्तृत सुझाव प्रस्तुत गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति सचिव कृष्ण बहादुर राउत समेतको उपस्थिति रहेको उक्त भेटका क्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री यादवलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै वर्तमान चुनौतीपूर्ण अवस्थामा निजी क्षेत्रसँग सहकार्य गर्दै नीतिगत स्पष्टता, लगानीमैत्री वातावरण र व्यवसायीको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको हो ।

भेटका क्रममा चेम्बरले विशेषगरी भन्सार विन्दुमा आयात हुने वस्तुहरूमा अधिकतम खुद्रा मूल्य (एम.आर.पी) अनिवार्य गर्ने व्यवस्था व्यवहारतः जटिल र प्रक्रियागत कठिनाई रहेको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा पुनर्विचार गर्न सरकारलाई सुझाव दिएको छ । सानो परिमाणमा हुने आयातका कारण विदेशी निर्यातकर्ताहरूले एम.आर.पी. वा लेबल व्यवस्थापन गर्न नचाहने, अन्तर्राष्ट्रिय बजारमा वस्तुको मूल्य निरन्तर परिवर्तन भइरहने, दैनिक रूपमा विनिमय दरमा उतारचढाव आउने तथा हार्मोनाइज्ड कोडको सुनिश्चितता नभएका कारण भंसार एवं अन्तशुल्क दरबन्दीमा फरक परिरहने साथै भंसार परिसरमा पूर्वाधारको अभावले त्यस्ता स्टिकर, लेबल राख्न संभव नहुने चेम्बरले जनाएको छ ।

चेम्बरले एम.आर.पी. सम्बन्धी नीति बनाउँदा अन्तर्राष्ट्रिय व्यापारको यथार्थ, मूल्य अस्थिरता र आयात प्रक्रियाका व्यवहारिक पक्षहरूलाई ध्यानमा राख्नुपर्नेमा जोड दिएको छ । साथै उपभोक्ता संरक्षण र पारदर्शिता कायम गर्ने उद्देश्यलाई ध्यानमा राख्दै लचिलो र प्रविधिमैत्री प्रणाली विकास गर्नुपर्ने सुझाव पनि दिएको छ ।

यसैगरी, चेम्बरले निर्यात प्रबद्र्धनमार्फत व्यापार घाटा न्यूनीकरण गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ । स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादन वृद्धि, मूल्य अभिवृद्धि गर्ने उद्योगलाई प्रोत्साहन, निर्यात अनुदान वृद्धि र सातै प्रदेशमा ‘निर्यात गृह’ स्थापना गर्नुपर्ने प्रस्ताव अघि सारिएको छ । भारत–युरोप स्वतन्त्र व्यापार सम्झौताले नेपालको निर्यातमा पर्ने प्रभावलाई ध्यानमा राख्दै वैदेशिक व्यापार नीतिमा समयानुकूल परिमार्जन आवश्यक रहेको पनि चेम्बरले जनाएको छ ।

निजी क्षेत्रको लगानी प्रवद्र्धन, स्टार्टअप र युवा उद्यमशीलता विकास, व्यवसाय दर्ता र कर प्रणालीको डिजिटाइजेसन, साना तथा मझौला उद्योगलाई सहुलियत तथा आपूर्ति प्रणाली सुदृढीकरणका विषयमा समेत चेम्बरले सरकारलाई सुझाव दिएको छ ।

चेम्बरले उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रलाई सबल बनाउन सुशासन, पारदर्शिता र निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै मन्त्री यादवको कार्यकाल सफल हुने विश्वास व्यक्त गरेको छ ।

सो अवसरमा मन्त्री यादवले नेपाल चेम्बर अफ कमर्सले मुख्य रुपमा उठाएको एमआरपीको समस्या लगायतका प्रस्तुत सुुझाव उपर छलफल गरी निजी क्षेत्रको लागि सकारात्मक वातावरण तयार पार्ने दिशामा सरकार अघि बढ्ने जनाइन् ।

Health Tips Ad Road Block