काठमाडौं । नेपाल धितोपत्र बोर्डमा रिक्त रहेको अध्यक्ष पदपूर्ति गर्न सरकारले सार्वजनिक सूचना जारी गर्दै इच्छुक योग्य व्यक्तिहरूसँग दरखास्त आव्हान गरेको छ ।
नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद नियुक्तिको लागि नाम सिफारिस गर्न गठित समितिले सूचना प्रकाशित भएको मितिबाट सात दिनभित्र आवश्यक कागजातसहित व्यक्तिगत विवरण पेश गर्न आग्रह गरेको छ । इच्छुक उम्मेदवारहरूले वैशाख २१ गतेभित्र अर्थ मन्त्रालय अन्तर्गतको सम्बन्धित महाशाखामा रहेको समितिको सचिवालयमा आवेदन दिनुपर्नेछ ।
के–के चाहिन्छ योग्यता ?
धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा (२) बमोजिम मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक,वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात्त वर्ष काम गरेका लब्धप्रतिष्ठित व्यक्ति ।
(आ) धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १० बमोजिम देहायको योग्यता भएकोः
(क) नेपालको नागरिक भएको,
(ख) उच्च नैतिक चरित्र भएको,
(ग) धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य,
(घ) सोही ऐनको दफा ११ बमोजिम अयोग्य नभएको ।
अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ ले तोके बमोजिम तीस वर्ष उमेर पूरा भई पैंसट्टी वर्ष उमेर ननाघेको, तथा देहायको अयोग्यता नरहेकोः
(क) भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागू औषध कारोबार, पुरातात्विक वस्तु
वा संरक्षित वन्यजन्तु सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाएको,
(ख) प्रचलित कानून बमोजिम कालो सूचीमा समावेश भई त्यस्तो सूचीबाट फुकुवा भएको अवधि तीन वर्ष पूरा नभएको,
(ग) कुनै विदेशी मुलुकमा स्थायी आवासीय अनुमति प्राप्त गरेको, सार्वजनिक निकायको कुनै ठेक्का पट्टा सम्झौता गरी काम गरिरहेको,
धितोपत्र बोर्डको अध्यक्ष पद गत वैशाख ४ गतेदेखि खाली छ। तत्कालीन अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त रहँदै आएको हो। उनलाई २०८१ मंसिर १० गते अध्यक्षमा नियुक्त गरिएको थियो।
प्राप्त दरखास्तहरूको अध्ययन तथा मूल्याङ्कनपछि सिफारिस समितिले उपयुक्त उम्मेदवार छनोट गरी सरकारसमक्ष सिफारिस गर्नेछ । त्यसपछि मन्त्रिपरिषद्ले अन्तिम निर्णय गर्दै धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्त गर्नेछ ।





















