Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

मालवाहक सवारीसाधनको भारवहनसम्बन्धी व्यवस्थामा कडाइ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । सरकारले मालवाहक सवारीसाधनको भारवहनसम्बन्धी व्यवस्थामा कडाइ गर्ने भएको छ । यातायात व्यवस्था विभागले मालवाहक सवारीसाधनको भारवहनसम्बन्धी व्यवस्थामा कडाइ गर्ने सूचना जारी गरेको हो ।

विभागले बिहीबार सूचना जारी गर्दै प्रचलित कानुन अनुसार तोकिएको क्षमताभन्दा बढी भार बोक्ने सवारीसाधनमाथि कारबाही गरिने स्पष्ट पारेको हो । मालवाहक सवारीसाधनले ‘मालवाहक सवारीसाधन सञ्चालन निर्देशिका, २०७४’ (संशोधित) अनुसार तोकिएको भारवहन क्षमता अनिवार्य रूपमा पालना गर्नुपर्ने सूचनामा उल्लेख छ । सवारी दर्ता प्रमाणपत्रमा उल्लेख गरिएको क्षमता तथा सडकको अवस्था र प्राविधिक मापदण्डलाई आधार मानेर मात्र भार बोक्नुपर्ने विभागले जनाएको छ ।

मालवाहक सवारीसाधनले सुरुवाती विन्दु, मध्यविन्दु र गन्तव्य नजिकका तौल पुलमा अनिवार्य रूपमा तौल जाँच गर्नुपर्ने छ । यसरी तौल गर्दा तोकिएको सीमा नाघेमा तत्काल आवश्यक कारबाही प्रक्रिया अघि बढाइने विभागको चेतावनी छ ।

सरकारी तथा निजीस्तरमा तौल पुल सञ्चालनमा आए पनि सरकारले यसअघि गरेको निर्णयलाई व्यवसायीले अटेर गर्दै आएका थिए । तोकिएको मापदण्डभन्दा बढी भार बोक्ने सवारी साधनलाई प्रचलित ऐन तथा नियमावली अनुसार जरिवाना, नियन्त्रण तथा अन्य कानुनी कारबाही गरिने विभागले चेतावनी दिएको छ । भार नाघेको सामानलाई व्यवस्थापन गर्न सम्बन्धित सवारीधनी स्वयम् जिम्मेवार हुने विभागले जनाएको छ ।

सूचनामा विभिन्न प्रकारका ट्रक तथा मालवाहक सवारीसाधनका लागि अधिकतम भारवहन क्षमतासमेत निर्धारण गरिएको छ । जस अनुसार दुई एक्सलदेखि छ एक्सलसम्मका सवारीका लागि फरक फरक तौल सीमा तोकिएको छ । साथै रिजिड ट्रकका लागि अधिकतम ३५ टन र ट्रेलर/सेमी ट्रेलरका लागि अधिकतम ५५ टनसम्म मात्र भार बोक्न पाइने व्यवस्था गरिएको छ ।

सडक सुरक्षामा सुधार, पूर्वाधारको दीर्घायु र दुर्घटना न्यूनीकरणका लागि यो व्यवस्था प्रभावकारी हुने अपेक्षा गरिएको सूचनामा भनिएको छ ।

Health Tips Ad Road Block