काठमाडौं । यतिबेला चारैतिर महँगीले सर्वसाधारणहरु आक्रान्त छन् । यो हालै मात्रै होइन विगत लामो समयदेखि नै नागरिकको भान्सा, हिँडडुलदेखि सबैतिर महँगी छ । यसको दोष अन्तर्राष्ट्रिय बजारमा बढेको कच्चा तेलको मूल्यलाई दिएर सबै पन्छिने गरेका छन् । सरकारी तथ्याँकले पनि गएको वर्षभन्दा महँगी दोब्बर बढेको देखाएकाे छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वैशाख महिनाको तथ्याँकलाई हेर्दा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो मुद्रास्फीति २.७७ प्रतिशत रहेको थियो । अघिल्लो वर्षको भन्दा ठिक दोब्बर हुनलाई अंकमा ५.५४ प्रतिशत हुनुपर्ने हो तर ५.०४ पनि दोब्बरको नजिक हो ।
राष्ट्र बैंकका अनुसार वैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.६३ प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.२६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः १.५२ प्रतिशत र ३.४५ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८२/८३ को दश महिनाको औसत मुद्रास्फीति भने २.६६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.३९ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत फलफूल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १८.६० प्रतिशत, घ्यू तथा तेलको १३.९९ प्रतिशत, तरकारीको ५.४० प्रतिशत र माछा तथा मासुको ४.१६ प्रतिशतले बढेको छ । यता दाल तथा गेडागुडी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.६७ प्रतिशत र मरमसलाको ०.६५ प्रतिशतले घटेको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १९.९० प्रतिशत, यातायातको १५.३० प्रतिशत, शिक्षाको ५.५४ प्रतिशत, मदिराजन्य पेय पदार्थको ४.७७ प्रतिशत र कपडा तथा जुत्ताचप्पलको ४.७३ प्रतिशतले बढेको छ ।
समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४.३५ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.२९ प्रतिशतले बढेको छ ।
प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.६४ प्रतिशत, मधेश प्रदेशको ५.४७ प्रतिशत, बागमती प्रदेशको ४.५५ प्रतिशत, गण्डकी प्रदेशको४.८६ प्रतिशत, लुम्बिनी प्रदेशको ५.३१ प्रतिशत, कर्णाली प्रदेशको ४.८८ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ४.६५ प्रतिशत रहेको छ ।
वैशाख महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९० प्रतिशत, तराईको ५.५९ प्रतिशत, पहाडको ४.७३ प्रतिशत र हिमालको ३.७३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
यता २०८३ वैशाख महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ५.९६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.९५ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति ८.६३ प्रतिशतले ऋणात्मक रहेको छ भने मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति क्रमशः १५.५९ प्रतिशत र ४.६१ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य सूचकाङ्क २.४७ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्याँकमा उल्लेख छ ।
नेपाल र भारतको उपभोक्ता मुद्रास्फीति हेर्दा २०८३ वैशाख महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०४ प्रतिशत रहेको छ । सन् २०२६ अप्रिल महिनामा भारतमा यस्तो मुद्रास्फीति ३.४८ प्रतिशत रहेको छ ।





















