काठमाडौं । विगत केही दिनदेखि अनुसन्धानका नाममा उद्योगी, व्यवसायीहरुलाई पक्राउ गरिएको प्रति उद्योग संगठन मोरङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
दोशी कोही उम्कनु हुदैन निर्दोष माथि अन्याय हुनुहुँदैन भन्दै फौजदारी र वित्तीय अभियोगलाई समान प्रकृतिको अभियोग सरह नलिई वित्तीय अभियोगको सन्दर्भमा पहिला सुन्ने र अनुसन्धानबाट गलत प्रमाणित भएमा मात्र थुन्ने नीति अवलम्वन गर्नुपर्दछ भन्ने अडिग मान्यता रहेको संगठनले जनाएको छ ।
आर्थिक समृद्धि र राष्ट्रिय अर्थतन्त्रको विकासमा नीजि क्षेत्रको भूमिकालाई अपरिहार्य ठानेको वर्तमान सरकारले सुन्ने काम भन्दा पहिला नै थुन्ने नीति अपनाउँदा अन्यौल र भयको वातावरण सिर्जना भएको संगठनको ठहर छ । वर्तमान सरकारले दोषी प्रमाणित नभई वित्तीय कसुरका आधारमा उद्योगी व्यवसायीहरुलाई अनावश्यक रुपमा दुःख नदिने आफ्नो प्रतिवद्धतालाई स्मरण गराइएको संगठनले जनाएको छ ।
राज्यका नीति तथा कानुनको परिधिभित्र रही व्यवसाय सञ्चालन गरिरहेका उद्योगी, व्यवसायीहरूलाई अनुसन्धान प्रक्रियामा समावेश गर्दा पहिला सुन्ने अनि दोषी प्रमाणित भएमात्र थुन्ने भन्ने विधिसम्मत र न्यायसंगत सिद्धान्तको पूर्ण पालना गरिनु पर्दछ भन्ने मान्यता रहेको संगठनले जनाएको छ ।
संगठनले वित्तीय प्रकृतिको अभियोगलाई थुना बाहिर राखेर अनुसन्धान गर्ने विधि अवलम्वन गरी समग्र नीजि क्षेत्रलाई भयरहीत भई उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण तयार गर्न सरकार समक्ष अपिल गरेको छ ।






















