काठमाडौं । विश्वको प्रतिष्ठित वायुसेवा कम्पनी फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा २३ सेप्टेम्बर २०२६ देखि नियमित अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्ने भएको छ । उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी निरीक्षण सम्पन्न भएपछि फ्लाई दुबईले २३ सेप्टेम्बर २०२६ देखि दैनिक उडान सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएको हो ।
पोखरा अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले फ्लाइ दुबईको पोखरा–दुबई उडान तालिका सोमबार स्वीकृत भइसकेको र आगामी सेप्टेम्बर २३ देखि पोखरा–दुबई दैनिक उडान सेवा सुरू हुने जानकारी दिएका छन् ।
यसले पोखराको अन्तर्राष्ट्रिय पहिचान, पर्यटन प्रवर्द्धन, आर्थिक गतिविधिको विस्तार र काठमाडौँ केन्द्रित हवाई चापलाई विकेन्द्रीकरण गर्ने ऐतिहासिक अवसर मिल्ने पाेखराका नगर प्रमुख धनराज आचार्यको विश्वास रहेको छ । “हामी सबैको साथ र विश्वासले यो उडान नियमित मात्र होइन, सदाका लागि सञ्चालन हुने सेवा बनोस् । पर्यटनको राजधानी पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्ने यो ऐतिहासिक यात्रामा सबैको साथ, सहयोग र शुभेच्छाको अपेक्षा गर्दछु ।” नगर प्रमुख आचार्यले भनेका छन् ।
यसअघि संयुक्त अरब इमिरेट्स (UAE) को प्रख्यात वायुसेवा कम्पनी फ्लाई दुबई फ्लाई दुबईका जोखिम व्यवस्थापनसम्बन्धी उपाध्यक्ष एड्रियन लुकास (Adrian Lukasz) सहितको प्राविधिक टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत स्थलगत निरीक्षण र उच्चस्तरीय छलफल गरेको थियाे ।
लुकास नेतृत्वको टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलासहित विमानस्थलको प्राविधिक टोलीसँग ६ घण्टा लामो गहन छलफल र स्थलगत निरीक्षण गरेको छ । सो क्रममा विमानस्थलको धावनमार्ग, सुरक्षा प्रणाली, प्राविधिक पूर्वाधार र उडान सञ्चालनका विविध पक्षहरूको सूक्ष्म अध्ययन भएको टोलीले बताएको थियाे ।
निरीक्षणपश्चात् टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग पनि विशेष भेटघाट गरेको छ । भाइस प्रेसिडेन्ट लुकासले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्राविधिक र सुरक्षाका हिसाबले पूर्ण रूपमा सुरक्षित र सक्षम रहेको प्रतिक्रिया दिएका थिए । विमानस्थलको पूर्वाधार र तयारीले आफू निकै प्रभावित भएको उल्लेख गर्दै उनले फ्लाई दुबई पोखरा–दुबई दैनिक सिधा उडान सुरु गर्न इच्छुक रहेको बताएका थिए । “हामीले विमानस्थलको प्राविधिक र सुरक्षा पक्षको ६ घण्टा लामो विस्तृत निरीक्षण गर्यौँ, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित उडानका लागि पूर्ण रूपमा सुरक्षित र तयार छ । हामी पोखरा र दुबईबिच दैनिक उडान सुरु गर्न इच्छुक छौँ” लुकासले भनेका थिए ।
फ्लाई दुबईले पोखराबाट उडान सुरु गर्नासाथ पोखराको कनेक्टिभिटी सिधै इमिरेट्सको वैश्विक सञ्जालसँग जोडिनेछ । यसबाट पोखरा संसारका ३०० भन्दा बढी प्रमुख सहरहरूसँग सिधा पहुँचमा पुग्नेछ । जसले गर्दा युरोप, अमेरिका र अफ्रिकाका पर्यटकहरू दुबई हुँदै सहजै पोखरा आउन सक्नेछन् ।
पोखरालाई विश्व बजारसँग सिधा जोड्न फ्लाई दुबईको दैनिक उडान कोसेढुङ्गा साबित हुने प्रमुख आचार्यले उल्लेख गरेका छन् । यो उडान सुचारु भएपछि गण्डकी प्रदेशका नागरिकहरूलाई वैदेशिक रोजगारी, व्यवसाय र भ्रमणका लागि काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य हुनेछ भने मध्यपूर्वी देशहरू र संसारभरबाट सिधै पर्यटकहरू पोखरा भित्रिने बाटो खुल्ने विश्वास गरिएको छ ।





















