काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले बैशाख १६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात यो आईपीओ निष्काशन गर्ने भएको हो ।
कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । त्यसमध्ये ७ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि र २ लाख १० हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ । त्यसैगरी कम्पनीले सामूहिक लगानी कोषहरुका लागि १ लाख ५ हजार कित्ता र कर्मचारीहरुका लागि ४२ हजार कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ । अब भने कम्पनीले १७ करोड ४३ लाख रुपैयाँ बराबरको १७ लाख ४३ हजार कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो । यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २१ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । छिटोमा बैशाख २२ र ढिलोमा बैशाख ३० गते यसको निष्काशन बन्द हुनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आईपीओमा आवेदन दिन सक्नेछन् । यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी पनि आवेदन दिन सक्नेछन् ।






















