Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

हाइब्रिड सवारीसाधनको मेकानिजम, सुरक्षा तथा मर्मतसम्भार सम्बन्धी प्राविधिक तालिम सम्पन्न

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नाइमाको समन्वयमा आयोजित हाइब्रिड सवारीसाधनको मेकानिजम, सुरक्षा तथा मर्मतसम्भार सम्बन्धी प्राविधिक तालिम काठमाडौँमा सफलतापूर्वक सम्पन्न भएको छ। विश्वव्यापी अटोमोबाइल ब्रान्ड टोयोटाका नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि.को प्राविधिक सहयोगमा काठमाडौँस्थित केन्द्रीय कार्यालयमा उक्त तालिम आयोजना गरिएको हो।

कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभिटी) अन्तर्गत बालाजु इञ्जिनियरिङ तथा प्रविधि विद्यालयका डिप्लोमा तह पाँचौँ सेमेस्टरका विद्यार्थीहरू तथा ट्राफिक चालकसहित २५ भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो, जसलाई लक्षित गरी हाइब्रिड सवारीसाधन प्रविधिसम्बन्धी विशेष प्राविधिक तालिम प्रदान गरिएको हो।

तालिमका सहभागीहरूले हाइब्रिड सवारीसाधनको मेकानिजम, सुरक्षा तथा मर्मतसम्भारसम्बन्धी महत्वपूर्ण ज्ञान तथा प्रायोगिक सीप हासिल गरेका छन्।

सहभागीहरूले गत चैत्र महिनामा लक्ष्मी हुन्डाईमा आयोजित विद्युतीय सवारीसाधन संयन्त्रसम्बन्धी ३ दिने तालिममा पनि सहभागिता जनाएका थिए। साथै, हाइब्रिड सवारीसाधन संयन्त्रमा केन्द्रित नाइमा मोबिलिटी संवाद कार्यक्रममा समेत सहभागी भई नीतिगत तथा प्राविधिक विषयमा थप जानकारी हासिल गरेका थिए। यसरी, विद्युतियदेखि हाइब्रिड प्रविधिसम्मको ज्ञानलाई चरणबद्ध रूपमा जोड्दै सहभागीहरूको समग्र प्राविधिक क्षमता अभिवृद्धि गर्ने प्रयास गरिएको नाइमाले जनाएको छ।

कार्यक्रममा नाइमाका कार्यकारी निर्देशक राज कुमार दुलालले प्राविधिक शिक्षा र विद्यार्थीहरूको सीप तथा क्षमता अभिवृद्धिमा तालिम कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गर्दै माग र उपलब्ध स्रोतका आधारमा यस्ता कार्यक्रमहरूलाई आगामी दिनहरूमा निरन्तरता दिइने जानकारी दिए ।

तालिम उद्घाटन सत्रमा बोल्दै, सीटीइभिटीका उपनिर्देशक खुशीराम अधिकारीले हाइब्रिड सवारीसाधनसम्बन्धी विषयलाई पाठ्यक्रममा समावेश गर्ने विषयलाई प्राथमिकतामा राखिने र आवश्यक प्रक्रियाहरू अघि बढाइने जानकारी दिए । नेपालको विविध भौगोलिक अवस्थालाई मध्यनजर गर्दै यस्ता सवारीसाधनको सान्दर्भिकता बढ्दै गएको पनि उनले उल्लेख गरे ।

बालाजु इञ्जिनियरिङ तथा प्रविधि विद्यालयका उपप्राचार्य प्रदीप न्यौपानेले नाइमाको प्रयासप्रति प्रशंसा व्यक्त गर्दै दक्ष जनशक्ति उत्पादनका लागि अटो उद्योग र प्राविधिक शिक्षाबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने धारणा राखे । साथै, हालै सम्पन्न ३ दिने विद्युतीय सवारीसाधनसम्बन्धी तालिमले विद्यार्थीहरूलाई सिकाइका व्यावहारिक पक्ष बुझ्न निकै उपयोगी भएको पनि उनले उल्लेख गरे ।

कार्यक्रमको समापन सत्रमा वैद्यज अर्गनाइजेशन अफ इन्डस्ट्रिज एण्ड ट्रेडिङ हाउसेजका निर्देशक सूर्यांश वैद्यले यस्ता व्यावहारिक र उपयोगी तालिमहरूले सहभागीहरूको पेशागत विकासमा टेवा पुर्‍याउने र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे । हाइब्रिड सवारीसाधनलाई उन्नत प्रविधिका रूपमा उल्लेख गर्दै यसबारेको प्राविधिक ज्ञान र सीपको विकास अझ आवश्यक रहेको पनि उनले बताए ।

यस तालिम शृङ्खलाअन्तर्गत हाइब्रिड सवारीसाधनसम्बन्धी प्रशिक्षण टोयोटाका प्राविधिक विज्ञहरूद्वारा प्रदान गरिएको थियो भने विद्युतीय सवारीसाधनसम्बन्धी ३ दिने तालिम लक्ष्मी हुन्डाईका प्राविधिक विशेषज्ञहरूद्वारा सञ्चालन गरिएको थियो, जसले सहभागीहरूलाई दुवै प्रविधिमा आधारभूत तथा व्यावहारिक ज्ञान र सीप प्रदान गरेको छ।

नाइमाले आफ्ना प्राविधिक समितिहरू तथा सचिवालयमार्फत क्षमता अभिवृद्धि तथा प्राविधिक संवादलाई प्राथमिकतामा राख्दै अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको विकासका लागि यस्ता पहलहरूलाई अघि बढाउँदै आएको छ।

Health Tips Ad Road Block