काठमाडौं । सोपान फर्मास्यूटिकल्स लिमिटेडले आज बैशाख ३ गतेदेखि सर्वसाधारणका प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशतले हुन आउने ४२ करोड ९० लाख रुपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । त्यसमा १० प्रतिशतले हुन आउने ४ लाख २९ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ । त्यस्तै, कम्पनीले १ लाख ७१ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि र २ लाख १४ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिसकेको छ । दोस्रो चरणमा बाँकी रहेको ३४ करोड ७४ लाख ९० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३४ लाख ७४ हजार ९०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता अधिकतम ११ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । सर्वसाधारण लगानीकर्ताले बैशाख ८ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । अवधि लम्बिएमा बैशाख १७ गतेसम्म जानेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आईपीओमा आवेदन दिन सक्नेछन् ।






















