काठमाडौँ। ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा एकीकृत पुर्नस्थापना केन्द्र सञ्चालनमा आएको छ । अस्पतालमा उपचार गरेपछि डिस्चार्ज भएको बिरामीलाई थेरापीको माध्यामबाट पूर्ण रुपमा निको बनाउनका लागि पुर्नस्थापना केन्द्र सञ्चालनमा ल्याइएको हो ।
उक्त केन्द्रको शुभारम्भ गर्दै अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद विजुक्छेले अस्पतालमा उपचारपछि डिस्चार्ज भएका बिरामीलाई थेरापीको मार्फतबाट उपचार गर्न पुर्नस्थापना केन्द्रले सहयोग पुग्ने बताए । डा.विजुक्छेले विरामीलाई गुणस्तरीय सेवा प्रदान गर्न पुर्नस्थापना केन्द्रले कुनै कमी नगर्ने विश्वास व्यक्त गरे ।
अस्पतालका वरिष्ठ न्यूरोलोजिष्ट डा. राजु पौडेलले स्ट्रोकका विरामीहरुको उपचार पश्चातको पुर्नस्थापनाको लागि यस केन्द्रले सहयोगी भूमिका खेल्ने बताए ।
अस्पतालका प्रमुख सञ्चालन अधिकृत (सिओओ) कर्णेल अमृत खन्नाले अस्पतालले बिरामी केन्द्रीत उपचारका निम्ति यस्ता कार्यक्रमहरु निरन्तर रुपमा थप्दै समयसापेक्ष विरामी केन्द्रीत कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
सञ्चालनमा आएको पुर्नस्थापना केन्द्रमा पोलिट्रमाका बिरामी, स्ट्रोक, स्पाइनल कर्ड इन्जुरीलगायतका बिरामीलाई फिजियोथेरापी, स्पीच थेरापी, अकुपेशनल थेरापी, नर्सिङ सेवा प्रदान गरिने पुर्नस्थापना केन्द्रका प्रमुख एवम् न्यूरो थेरापिष्ट निमा शेर्पाले बताए ।
यस केन्द्रमा बिरामीका लागि पुर्नस्थापनाका कार्यक्रमसँगै मानसिक परामर्श, मनोरञ्जनात्मक गतिविधि, सामान्य खेल, आध्यात्मलगायतका गतिविधि सञ्चालन हुनेछन् । उक्त केन्द्रमा अन्य अस्पतालमा उपचार गरेका वा देश बाहिर उपचार पश्चात स्वदेश फर्केका थेरापीको आवश्यक परेका जोकोही बिरामीले सेवा लिन पाउने अस्पतालले जनाएको छ ।






















