काठमाडौं । कालिञ्चोक हाइड्रोपावर लिमिटेडले आज चैत २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । त्यसमध्ये ५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र ८२ हजार ५०० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ । अहिले दोस्रो चरणमा ४१ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र १६ हजार ५०० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित राखी बाँकी रहेको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ६ करोड ८४ लाख ७५ हजार रुपैयाँबराबरको ६ लाख ८४ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो । यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा चैत २५ गते र ढिलोमा २०८३ वैशाख ६ गते हुनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणालीमार्फत आईपीओमा आवेदन दिन सक्नेछन् । यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी पनि आईपीओमा आवेदन दिन सक्नेछन् ।






















