काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा विप्रेषण आप्रवाह ३७.७ प्रतिशतले वृद्धि भई रु.१४ खर्ब ४९ अर्ब ६५ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आठ महिना(फागुन) सम्मको तथ्याँकमा यो उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.५ प्रतिशतले बढेको थियो ।
२०८२ फागुन महिनामा मात्रै विप्रेषण आप्रवाह रु.१ खर्ब ८८ अर्ब ६४ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु.१ खर्ब ५१ अर्ब १९ करोड रहेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३१.० प्रतिशतले वृद्धि भई १० अर्ब १५ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.१५ खर्ब ९१ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.११ खर्ब४९ अर्ब ३० करोड रहेको थियो ।
यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २,७३,५३६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २,५१,९८५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३,१७,०६८ र २,१७,४०३ रहेको थियो ।






















