काठमाडौँ । आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ । यसको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने तयारी गरिएको छ । परीक्षामा पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुने भएका छन् । बोर्डको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार परीक्षामा दुई लाख ५७ हजार ६१३ जना छात्रा र दुई लाख ५४ हजार ८०१ जना छात्र सहभागी हुँदै छन् ।
परीक्षाका लागि एक हजार ९६६ केन्द्र तोकिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनमा राष्ट्रिय परीक्षा बोर्डले यसको तयारी गरिरहेको छ । यसअघि परीक्षा सकिएको सामान्यतया तीन महिनाभित्र नतिजा प्रकाशन हुँदै आएको थियो ।
गत वर्ष चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको एसइईको नतिजा तीन महिनापछि मात्र सार्वजनिक भएको थियो ।
यस वर्ष एक महिनाभित्र नतिजा प्रकाशनका लागि परीक्षा सञ्चालन भएको केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिने तयारी गरिएको छ । भौगोलिक विकटता र अन्य प्राविधिक जटिलता हुने ठाउँको उत्तरपुस्तिका भने अन्य केन्द्र वा वैकल्पिक ठाउँमा लगेर परीक्षण गरिने तयारी छ ।




















