skip this News Page Tips Ad Road Block

महिलाको आर्थिक सशक्तीकरणका लागि वीरगञ्जमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र हस्तान्तरण 

Citizenlife ad 2082 falgun to baishak 2083

वीरगञ्ज। महिलाको आर्थिक सशक्तीकरण, सुरक्षित बाल हेरचाह तथा समावेशी आर्थिक विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले वीरगञ्ज महानगरपालिका–८ मा स्थापना गरिएको बाल उद्यान तथा शिशु स्याहारको शुक्रबार वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ ।

हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रवलजंग पाण्डेले उक्त केन्द्र महिलाको आर्थिक स्वतन्त्रता र रोजगारीमा सहभागिता बढाउने महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गरे।

उनले बालबालिकाको सुरक्षित, व्यवस्थित तथा गुणस्तरीय हेरचाहको व्यवस्था भएपछि महिलाहरू उद्योग, व्यापार, सेवा, स्वरोजगार तथा अन्य आयमूलक गतिविधिमा निर्धक्क रूपमा सहभागी हुन सक्ने बताए । “यो केन्द्र केवल एउटा भौतिक संरचना मात्र होइन, महिलाको आर्थिक स्वतन्त्रताको ढोका हो। यसले महिलालाई आफ्ना बालबालिकालाई सुरक्षित वातावरणमा राखेर रोजगारी, स्वरोजगार तथा उद्यमशीलतामा सक्रिय हुन सहज वातावरण सिर्जना गर्नेछ,“ उपाध्यक्ष पाण्डेले भने ।

उनले नेपालमा महिलासँग पर्याप्त सीप, क्षमता र काम गर्ने इच्छा हुँदाहुँदै पनि बालबालिका, ज्येष्ठ नागरिक तथा घरायसी जिम्मेवारीका कारण उनीहरूको आर्थिक सहभागिता सीमित रहेको उल्लेख गरे । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का अध्ययनहरूले पनि अवैतनिक हेरचाह कार्यको असमान भार महिलाको आर्थिक सहभागिताको प्रमुख अवरोधका रूपमा औंल्याएको उनले बताए ।

महिलाको आर्थिक सहभागिता बढाउनु सामाजिक न्यायको विषय मात्र नभई दिगो आर्थिक विकासको आधार भएको उल्लेख गर्दै उपाध्यक्ष पाण्डेले विश्व बैंकलगायतका अन्तर्राष्ट्रिय अध्ययनहरूले महिलाको श्रम सहभागिता बढ्दा उत्पादनशीलता वृद्धि हुने, पारिवारिक आय बढ्ने तथा बालबालिकाको शिक्षा साथै, स्थानीय सरकार, निजी क्षेत्र र विकास साझेदारबीचको सहकार्य सार्वजनिक–निजी साझेदारीको उत्कृष्ट उदाहरण भएको उल्लेख गर्दै उनले महिलाको रोजगारी, उद्यमशीलता तथा नेतृत्व विकासका लागि यस्ता पहललाई थप विस्तार गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले निजीक्षेत्र सधैं सरकारसँग हातेमालो गरेर हिड्न खोजेको उल्लेख गर्दै स्थानीय सरकारसँग पहिलोपटक कार्यक्रममा साझेदारी र सहकार्यमा महिला र बालबालिकामैत्री कार्यक्रम गर्नु सकारात्मक भएको धारणा राखे ।

जनता समाजवादी पार्टीका पर्सा अध्यक्ष रामनरेश यादवले बालबालिकाहरुका लागि स्याहार केन्द्र अत्यन्त आवश्यक रहेको बताए ।

आईएलओ मधेस प्रदेशका संयोजक महेन्द्र सहनीले श्रम बजारमा महिलाहरुको सहभागिता न्यून देखिएको र ४० प्रतिशत महिलाहरुले पारिवारिक र सामाजिक जिम्मेवारीले गर्दा सहभागिता जनाउन नसकेको देखिएपछि स्थानीय सरकार र निजीक्षेत्रसँग सहकार्य गरेर यस्तो कार्यक्रमहरु सञ्चालन गरेको बताए।

नेपाल उद्योग वाणिज्य महासंघका सहायक निर्देशक हरि पौडेलका अनुसार वीरगञ्ज नेपालको प्रमुख औद्योगिक तथा व्यापारिक केन्द्र भएकाले व्यापारिक गतिविधि, घना बस्ती तथा कार्यरत महिलाको उल्लेखनीय उपस्थितिलाई आधार मानी वीरगञ्ज महानगरपालिका–८ लाई केन्द्र सञ्चालनका लागि छनोट गरिएको हो ।

यस केन्द्रबाट विशेषगरी औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत महिला, दैनिक ज्यालादारी गर्ने महिला, साना व्यवसायी, स्वरोजगार महिला तथा रोजगारीको खोजीमा रहेका महिलाहरू प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ। साथै, उनीहरूका बालबालिकाले सुरक्षित, स्वस्थ, सिकाइमैत्री तथा स्नेहपूर्ण वातावरणमा गुणस्तरीय हेरचाह सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरिएको छ ।

उक्त केन्द्र आएओ नेपाल, “सशक्त महिला, समृद्ध नेपाल“ परियोजना, नेपाल उद्योग वाणिज्य महासंघ, वीरगञ्ज महानगरपालिका, वडा नं. ८, नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश, वीरगञ्ज उद्योग वाणिज्य संघ तथा अन्य साझेदार संस्थाहरूको सहकार्यमा स्थापना गरिएको हो ।

Health Tips Ad Road Block