काठमाडौं । यतिबेला नेपालको तराईबाट राजधानी काठमाडौं जोड्ने छिटो वे फाष्ट ट्र्याक निर्माण दु्रत गतीमा भइरहेको छ । नेपाली सेनाले यसको जिम्मा लिएको छ । यही फाष्ट ट्र्याक बनिसक्दा नेपालमा अहिले भइरहेका स्थितिमा धेरै बदलाव आउनेछ । एक तिहाइ मालवाहक ट्रक भए पुग्ने अवस्था बन्ने देखिन्छ भने देशले आर्थिकरुपमा धेरै फाइदा लिन सक्नेछ ।
अहिले हाम्रो सवारी साधन वीरगञ्जमा गएर लोड गर्दछन् । त्यो बाटोमा आएर एकदिन बस्दछन् । काठमाडौँ प्रवेशको लागि टाइम कार्ड छ । ८ बजेसम्म प्रवेश गर्यो भने गर्यो नत्र भोलिपल्ट मात्रै सवारी साधन काठमाडौँ प्रवेश गर्दछ । एकदिन लोड गर्दछ, एकदिन खाली गर्दछ । अर्को खाली गरेको दिन पैसा उठाउनुपर्ने लगायतका कारण निस्किन भ्याउँदैन । त्यसरी प्रक्रिया पुर्याउँदा चार दिनमा बल्ल वीरगञ्ज पुग्दछ । फास्ट ट्र्याक बनिसके पछाडि हाम्रो सवारी साधन एक/डेढ घण्टामा तराईको द्रुत मार्गसम्म आइपुग्दछ । त्यहाँबाट करिब तीन घण्टामा काठमाडौँ आउँछ र खाली गर्दछ । यसरी हेर्दा दैनिक टिप गर्दछ । मानौँ चार दिनको लागि १०० टिप सामानका लागि ४०० गाडी चल्नुपर्दथ्यो भने दैनिक टिप हुन थाल्यो भने ३०० गाडी कहाँ जाने भन्ने अवस्था रहनेछ । अर्थात् ४०० गाडीले गर्ने काम अब १०० वटा गाडीले नै गर्दछ । यसले लागत पनि घट्दछ र उपभोक्तालाई समेत राम्रो हुने देखिन्छ ।
यसरी फाष्ट ट्र्याकका कारण समयको बचत भएपछि अहिले पेट्रोलियम पदार्थमा खर्च भइरहेको ठूलो धनराशि पनि बचत हुन जानेछ । अर्थात् इन्धनको खपत धेरै न्यून हुन जानेछ । अहिले एउटा ट्रकले वीरगञ्जबाट काठमाडौँ आएर फेरि वीरगञ्ज पुग्नको लागि २२० देखि २५० लिटरसम्म डिजेल खपत गर्दछ । अब यो फास्ट ट्र्याक बनिसके पछाडि त्यो गाडीले झन्डै ६०–७० लिटर डिजेल खर्च गरेर काठमाडौँ–वीरगञ्ज आवतजावत गर्न सक्ने देखिन्छ ।
त्यसैले फास्ट ट्र्याक देशको लागि एकदमै फाइदाजनक छ ।
नेपाली सेना जिम्मा लिएर बनाइरहेको फास्ट ट्र्याकको निर्माण कार्य कहिले सकिन्छ त्यो त अहिल्यै भन्न सकिँदैन तर यसले मालवाहक सवारीमा एक तिहाइ कटौती ल्याउनेछ । दुई तिहाइले काम पाउँदैनन् । त्यसैले अब सवारी साधन धनीहरूले पनि सोच्नुपर्ने बेला आएको छ । अहिलेको अनुपातमा स्वभावैले पनि सवारी साधनले काम पाउने अवस्था घट्दछ ।
त्यसैगरी विराटनगरबाट पनि काठमाडौँ आउँदा फास्ट ट्र्याकको माध्यमबाट एकै दिनमा आइपुग्ने अवस्था रहन्छ । अहिले विराटनगरबाट दुई दिन जस्तो लाग्दछ । फाष्ट ट्र्याक बनेपछि अहिले घुमेर आउनुपर्ने मुग्लिन नारायणघाट खण्डको झन्डैझन्डै २५० किलोमिटर हाराहारीको दूरी घट्दछ । त्यसैगरी विराटनगर–काकटभित्ता सबैतिरको लागि बचत हुनेछ । तर पश्चिमतर्फको सवारी साधनहरू भने फास्ट ट्र्याकको प्रयोग गरेर आउन मिल्दैन ।
नागढुङ्गा सुरुङ्ग मार्गबाट अर्काे फाइदा
अर्काेतर्फ यहीबीचमा नागढुङ्गा सुरुङ्ग मार्ग खुल्दैछ । त्यसले पनि एक/डेढ घण्टाको बाटोको दूरी छोट्याउनेछ । त्यतातर्फबाट पनि इन्धनको बचत हुन जानेछ । यी दुई आयोजनाले यातायात क्षेत्रमा ऐतिहासिक परिवर्तन ल्याउने देखिन्छ ।
अहिले बजारमा करिब ५० हजार ट्रकहरु सञ्चालनमा रहेका छन् । महासंघ अन्तर्गत नै २५ हजार हाराहारीमा ट्रकहरु सञ्चालनमा छन् । फास्ट ट्र्याक बनिसके पछाडि यी सामान बोक्ने ट्रकहरू घट्नेछन् । त्यतिबेला अहिले भइरहेका एक तिहाई ट्रकहरु भए पुग्दछ । यन्धनको बचत, लागत कम पर्न जाँदा बजारमा सामान सस्तो पर्न जाने लगायत धेरै फाइदा हुनेछ । त्यसैले फास्ट ट्र्याक नेपालका लागि वरदान नै सावित हुनेछ । यो छिटो सम्पन्न भएमा नेपालले छिट्टै लाभ लिन थाल्नेछ । त्यसले देशकै विकासमा एउटा नयाँ फड्को मार्ने अवस्था बन्दछ ।





















